दाङका किसानले धानको समर्थन मूल्य पाउन सकेनन्

हिमाल प्रेस १० मंसिर २०७९ १६:२०
4
SHARES
दाङका किसानले धानको समर्थन मूल्य पाउन सकेनन् फाइल तस्बिर।

दाङ– दाङका किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन्।

किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ।

घोराही उपमहानगरपालिका-६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन्। उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो।

गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गरेका थिए। यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए।

घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीको भनाइ छ।

‘महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएजस्तो हुन्छ,’ उनले भने।

यस्तै लमही नगरपालिका-५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल २ हजार १ सय रुपैयाँमा स्थानीय व्यापारीलाई बेचेको बताए।

समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनले बताए।

उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको उनले गुनासो गरे।

लमही ५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार १ सय र मसिनो धान प्रतिक्विन्टल २ हजार ५ सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए।

मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उनको भनाइ छ।

गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०७९/८० का लागि धानको समर्थन मूल्य तोके दाङका किसानले उक्त मूल्यमा धान बिक्री गर्न पाएका छैनन्।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ तोकेको हो। यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैयाँले बढी हो।

यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ। यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ रुपैयाँभन्दा बढी हो।

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ। संघीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन।

धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन नसकेका हु्न।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन। भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले जानकारी दिए।

५ हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन्। त्यसमा चामल मौज्दात छ। पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उनले बताउनुभयो।

कृषि ज्ञान केन्द्र दाङको तथ्यांकअनुसार दाङमा ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast