पाल्पा- आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सँदै जाने गरिएको छ। अहिलेको परिस्थितिमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन।
आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्ख्यौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ। हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले संग्रहालयमा मात्रै सीमित हुन पुगेको छ। परम्परागत वस्तुको ठाउँमा आधुनिक खालका सामग्री खरिदमा उपभोक्ता आकर्षित हुँदै गएपछि गाउँघरमा पुर्ख्यौली सामग्री देख्न मुस्किल परेको छ।
अहिलेका बालबालिका ठेको, ठेकी, माना, पाथी, सेखु, हलो जुवाबारे जानकार छैनन्। गाउँमा यी वस्तुको प्रयोग हराउँदै गयो। पुराना पुस्ताले यसैबाट दैनिक रूपमा भोगचलन गरी जीवन बिताए पनि अहिलेका पुस्ता परम्परागत वस्तुबारे अनभिज्ञ छन्। आधुनिक प्रविधिको विकास, प्लाष्टिकजन्य, स्टिलजन्य सामग्रीको प्रचलन बढ्न थालेपछि पुर्ख्यौली सामग्री लोप हुदै गएका हुन्।
माना, पाथी, हलो, जुवा, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्रीबाट अहिलेका पुस्ता अनभिज्ञ नहुन् भनेर पाल्पाको एक विद्यालयले संग्रहालयमा संरक्षण गरिरहेको छ। पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयमा पुराना प्रचलनमा आएका विभिन्न सामग्री, तामाका भाँडा, पुराना पैसा सुरक्षित साथ संग्रहालयमा राखिएका छन्। यहाँका विद्यार्थीले दैनिक प्रयोगमा आउने पुराना सामग्रीको जानकारी लिने गरेका छन्।
संग्रहालयभित्र तामाबाट बनेका कचौँरा, माना, करुवा, काठको आरी, हलो, जुवा, फुर्लुङ, सेखु, भोटेताल्चा, रोटी राख्ने डोको, ठेका, ठेकी, पुराना पैसा, लालटिन, ढिँकी, जाँतो, दाउँ, हातहतियार, मदाने, मधुशलगायतका विभिन्न थरीका सामग्री रहेको प्रधानाध्यापक हरिप्रसाद अधिकारी बताउँछन्।
‘पुराना सामग्री गाउँघरमा अहिले कतै नपाइने भएकाले विभिन्न विद्यालयबाट शैक्षिक अवलोकन गर्न आउनुहुन्छ’, उनले भने, ‘हामीले कक्षा शिक्षणमा बेला बेलामा संग्रहालयमा लगेर विभिन्न सामग्री देखाउने र त्यसको प्रयोगबारे जानकारी दिने गरेका छौँ, यसले शिक्षण कार्यमा राम्रो प्रभाव पारेको छ।’
स्वास्थ्य, नेपाली, सामाजिक विषयसँग सम्बन्धित सामग्री भएकाले शिक्षण कार्यमा धेरै सहयोग पुगेको कक्षा १० मा अध्ययनरत छात्रा दिव्या नेपाली बताउँछन्। शिक्षण कार्यमा सघाउँ पुगोस् र नयाँ पुस्तालाई पुराना वस्तुबारे अवगत गराउन, गाउँघरबाट लोपोन्मुख भएका सामग्री संरक्षण गर्ने उद्देश्यले विद्यालय परिसरभित्र संग्रहालयमा राखिएको हो।
‘कक्षा शिक्षणको क्रममा आवश्यक पर्ने शैक्षिक सामग्री खोज्न गाउँगाउँमा पुग्न परेन, संग्रहालयभित्र पसेपछि सबै सामग्री उपलब्ध छन्, यसले बाहिर खोज्ने समय पढाइमा खर्चन पाइएको छ’, उनले भने। पुराना वस्तु देख्न पाइने हुँदा सिकाइलाई सहजीकरण, प्रयोगात्मक कक्षालाई सहज, विद्यार्थीलाई बेलाबेलामा सिक्ने र सिकाउने वातावरण सजिलो बनेको छ। पहिले घरमा दैनिक प्रयोगमा आएका तर अहिले प्रयोग हुन छाडेका सामग्रीबारे जानकारी पाएपछि अवलोकनमा आउने विद्यार्थी, शिक्षक दंग पर्छन्।
आधुनिकताको नाममा पुराना कुरा अहिलेका पुस्ताले बिर्सदै जान थालिएपछि गाउँघरबाट सामग्री सङ्कलन गरेर विद्यालयभित्रै संग्रहालयमा राख्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन्।
एक वर्षमा विभिन्न स्थानमा गरी एक दर्जन जति विद्यालय यहाँको सङ्ग्रहालय अवलोकन गर्न आउने गरेको पाइएको छ। यहाँ विसं २०६५ देखि नै संग्रहालय बनाएर सामग्री संरक्षण गरेर राखिएको हो। संग्रहालय बन्नुअघि विद्यालयले एउटा कोठामा सामग्री संकलन गरेर राख्ने गरेको थियो। यस विद्यालयमा पुराना सामग्री हेर्ने र जानकारी लिन पाइने भएकाले शैक्षिक अवलोकन भ्रमणमा शिक्षक, विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।