१० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति, असारयता १३ प्रतिशतले बढ्याे

हिमाल प्रेस २८ फागुन २०७९ १६:१८ | Sunday, March 12, 2023
१० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति, असारयता १३ प्रतिशतले बढ्याे राष्ट्र बैंक

काठमाडौँ- गत असारयता नेपालको विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको साउनदेखि माघसम्मको वित्तीय विवरणअनुसार नेपालको विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढेको हो।

असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति माघमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबरको पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ।

गत असारमा ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका अनुसार माघमा १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति पुगेको छ। विदेशी सञ्चितिमध्ये राष्ट्र बैंकसँग १२ खर्ब २८ अर्ब ५ करोड रुपैयाँ बराबर रहेको छ। नेपाल राष्ट्र बैंकसँग गत असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको थियो।

पछिल्लो समय राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थारूसँग १ खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ।

नेपालसँग रहेको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

चालू आर्थिक वर्ष २०७९/८०को सात महिनाको आयातलाई आधार मान्दा नेपालसँग अहिले रहेको विदेशी विनिमय सञ्चितिले आगामी १० महिनाको वस्तु आयातका लागि धान्ने राष्ट्र बैंकको भनाइ छ। ‘सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ,’ राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्ले गरिएको छ।

प्रकाशित: २८ फागुन २०७९ १६:१८ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast