काठमाडौँ- स्वतन्त्र विद्यार्थी स्ववियु (स्ववियु)निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
अनेरास्ववियुले प्रतिबद्धतापत्रमा ‘शुल्क शिक्षा, स्वास्थ्य, दिगो स्वरोजगार सहितको समृद्ध नेपाल निर्माण हाम्रो अठोट, प्राज्ञिक उन्नयन र युवा वर्गको सबल नेतृत्वका लागि अनेरास्ववियुलाई भोट’ भन्ने मुल नारा अघि सारेको छ।
अनेरास्ववियुले शिक्षामा सबैको पहुँच र निरन्तरताका लागि अनेरास्ववियुले के के पहल गर्नेछ भन्ने विषय उठान गरेको छ। जसमा शिक्षामा राज्यको लगानी बृद्धि गर्ने र निःशुल्क शिक्षाको लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्ने रहेको छ।
त्यस्तै सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठूला आंथिक क्याम्पसहरुलाई स्वायत्त विश्वविद्यालयका रुपमा स्थापना गर्न पहल गर्ने प्रतिबद्धता अनेरास्ववियुको छ।
७७ वटै जिल्लामा कम्तीमा एक त्रिविको आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने अनेरास्ववियुको प्रतिबद्धता रहेको छ। त्यस्तै अनेरास्ववियुको विशेष प्रतिबद्धतामा विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजानी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने रहेको छ।
त्यस्तै आन्दोलनमा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारीमाथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने र आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने अनेरास्ववियुको विशेष प्रतिबद्धता रहेका छन्।