विद्युत् खेर गए ठेकेदारबाटै रकम असुल गर्ने कुलमानको चेतावनी

हिमाल प्रेस २५ फागुन २०७९ १६:०१
6
SHARES
विद्युत् खेर गए ठेकेदारबाटै रकम असुल गर्ने कुलमानको चेतावनी

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रै सक्न ठेकेदारहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त आयोजना अन्तर्गतको बाह्रबिसे सबस्टेसनको अनुगमन गरेपछि ठेकेदारहरूलाई असारभित्र काम सक्न निर्देशन दिएका हुन्।

प्राधिकरणका अनुसार आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन्।

त्यसैगरी बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छ। त्यस्तै लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको थियो।

बुधबार अनुगमनमा गएको घिसिङ नेतृत्वको टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौँ र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न पनि निर्देशन दिएको छ।

टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको जिम्मा पाएका ठेकेदारहरू, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगतिबारे पनि जानकारी लिएको छ।

त्यस्तै आयोजना क्षेत्रमा रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइन निर्माण क्षेत्रमा स्थानीयको अवरोधलगायत कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ।

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ।

मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। घिसिङले असारभित्र सबस्टेसन निर्माण नसकिएमा मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आउने बताए।

त्यस्तो अवस्था आएमा त्यसको क्षतिपूर्ति ठेकेदारहरूले तिर्नुपर्ने घिसिङको चेतावनी थियो। ‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ,’ उनले भने, ‘सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने? यस्तो महत्त्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने? सबस्टेसन निर्माण सम्पन्न नभई मध्यभोटेकोसीको विद्युत् खेर गएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक हुने आम्दानी असुलउपर गरिनेछ।’

प्राधिकरणले मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ। तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ।

मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा जोडिनेछ।

प्रकाशित: २५ फागुन २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =