एनफिल्डमा ‘कमब्याक किंग्स’ रियल म्याड्रिडको जगजगी

हिमाल प्रेस १० फागुन २०७९ १०:१५
8
SHARES
एनफिल्डमा ‘कमब्याक किंग्स’ रियल म्याड्रिडको जगजगी

काठमाडौँ- रियल म्याड्रिडलाई युरोपियन क्लब फुटबलमा दिइएको उपनाम हो, ‘कमब्याक किंग्स’। रियललाई यो उपनाम त्यसै दिइएको होइन। च्याम्पियन्स लिगका महत्त्जपूर्ण खेलमा पटक पटक पछाडि परे पनि पुनरागमन गर्ने बानी भएकाले ‘कमब्याक किंग्स’ भन्न कर लागेको हो।

रियलले आफूलाई दिइएको उपनामको फेरि एकपल्ट औचित्य साबित गरेको छ। २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै लिभरपुललाई उसकै मैदानमा ५–२ ले हराएर।

एनफिल्डमा लिभरपुलले १४ मिनेटभित्रै दुई गोल गरेको थियो। मोहम्मद सलाहको पासमा डार्विन नुनेजले चौथो मिनेटमा गोलको खाता खोलेका थिए। त्यसको १० मिनेटपछि सलाह आफैँले गोल गरे।

घरेलु समर्थकको साथले उत्साहित बनेको लिभरपुलले गोल थप्ने अनुमान गरिएको थियो। तर भिनिसियस जुनियरले पहिलो हाफ नसकिँदै दुई गोल फर्काएपछि लिभरपुल दबाबमा पर्‍यो। जसरी सलाहले रियलका गोलरक्षक थिबाउट कोर्टुवाले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरे, त्यसरी नै भिनिसियसले दोस्रो गोल गरे।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै रियलले अग्रता लिएको थियो। एडर मिलिटाओको त्यो गोलले रियलको अग्रता स्थापित भयो। त्यसपछि ५५ र ६७ औँ मिनेटमा कप्तान करिम बेन्जेमाले लगातार दुई गोल गरे।

रियलले गत सिजन लिभरपुललाई नै हराएर च्याम्पियन्स लिग जितेको थियो। यसपालि यी दुई टिमको भेट अन्तिम १६ मै भएको हो। गत सिजन पेरिस सेन्ट जर्मेन पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीमाथि पुनरागमन जित दर्ता गरेर फाइनलमा स्थान बनाएको रियलले यसपल्ट आफ्नो चरित्र अहिलेबाटै देखाउन सुरु गरेको छ।

रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले आफ्नो टिमले सुरुवाती दुई गोल खाए पनि दबाब महसुस नगरेको प्रतिक्रिया दिए। ‘दुई गोल खाएपछि मैले सिटीसँगको खेल (गत सिजनको) सम्झिएँ। खेलमा फर्कन सक्छौँ भन्ने विश्वास थियो। त्यसपछि हामीले गोलका अवसर सिर्जना गर्न थाल्यौँ। गोल पनि भए। अनि सँगसँगै रक्षापंक्तिमा सुधार पनि आयो,’ एन्सिलोट्टीले भने।

गएको सिजन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीले पहिलो हाफको ११ मिनेटभित्र दुई गोल गरेको थियो। त्यो खेल अन्ततः ४–३ ले सिटीको पक्षमा गए पनि दोस्रो लेगमा रियलले ३–१ ले विजयी भएको थियो।

यसअघि दुई पटक च्याम्पियन्स लिगमा भिडेको लिभरपुलमाथि विजय प्राप्त गर्दा रियलका लागि भिनिसियस सबैभन्दा महत्त्वपूर्ण साबित भए। स्पेनमा बारम्बार रंगभेदीय व्यवहार झेलिरहेका भिनिसियसले लिभरपुलका रक्षकलाई निरन्तर दुःख दिए। ‘मलाई लाग्छ, वर्तमान विश्व फुटबलमा भिनिसियस जस्तो निर्णायक खेलाडी अर्को छैन,’ एन्सिलोट्टीले ब्राजिलका युवा विंगरको तारिफ गरे।

केही समययता चोटका कारण दुःख पाइरहेका बेन्जेमाले लिभरपुलविरुद्ध दुई सजिला गोल गरे। गत साता ला लिगामा ओसासुनासँगको खेल गुमाएका बेन्जेमा लिभरपुलविरुद्ध ८७ औँ मिनेटसम्म मैदानमा रहे। ‘करिब २० मिनेटपछि मात्र समर्थकले रियल म्याड्रिडलाई देखे। आउँदा खेलमा हामी यसरी ढिलोगरी जाग्नु हुँदैन, सुरुबाटै आक्रामक हुनुपर्छ,’ बेन्जेमाले भने।

एन्सिलोट्टी दोस्रो पटक रियलको प्रशिक्षकका रुपमा कार्यरत छन्। सन् २०१४ मा पनि रियललाई च्याम्पियन्स लिग जिताएका एन्सिलोट्टी जस्तोसुकै खेलमा पनि धैर्य देखिन्छन्। १० औँ पटक च्याम्पियन्स लिग जित्नुअघि रियल एट्लेटिको म्याड्रिडसँग पछि परेको अवस्थामा थियो। तर एन्सिलोट्टीको रणनीतिले काम गर्दा रियल अन्ततः ४–१ ले विजयी बन्यो।

त्यसपछि सन् २०१६, २०१७ र २०१८ मा पनि च्याम्पियन्स लिग जितेको रियल यो प्रतियोगिताको सबैभन्दा सफल टिम हो।

फेरि एकपल्ट च्याम्पियन बन्ने लक्ष्यमा अघि बढेको रियलका लागि लिभरपुलमाथिको जित सजिलै बिर्सनेखालको छैन। ‘पहिलो हाफपछि एन्सिलोट्टी केही यस्ता कुरा भने जसले हामीलाई प्रेरणा दियो। सही समयमा सही कुरा भन्दा खेलाडीको मनोबल बढ्छ,’ रियलका युवा मिडफिल्डर फेडेरिको भाल्भार्डेले भने।

च्याम्पियन्स लिगमा लिभरपुलले यसअघि जम्मा एकपल्ट मात्र पाँच गोल खाएको थियो। सन् १९६६ मा आयाक्सले राखेको त्यो जित अन्तर आफूहरूले पनि राख्न सक्ने भनेर एन्सिलोट्टीले मनोबल बढाएको भाल्भार्डेको भनाइ थियो।

प्रकाशित: १० फागुन २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast