भातखानेडाँडा जहाँ सामूहिक रूपमा भात खाइन्छ

हिमाल प्रेस ९ फागुन २०७९ ९:५१
14
SHARES
भातखानेडाँडा जहाँ सामूहिक रूपमा भात खाइन्छ

ढोरपाटन- करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो। अहिले बजार बनेको छ। अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन्।

यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन्। यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन्। खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन्। भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य संकट पर्थ्यो।

खाद्य संकट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपर्थ्यो। पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ। पहिलेको जस्तो अहिले खाद्य संकटसमेत नपर्ने स्थानीय संगम घर्तीमगर बताउँछन्।

पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ। तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन्।

बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे। त्यो चलन अहिले पनि छ। यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ। अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए। यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन्। गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ।

‘पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानुपर्थ्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो,’ उनले भने, ‘अरू बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन।’

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउँछन्। अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ।

स्थानीय बाली पूजा गरेरमात्रै नयाँ बाली भित्र्याउने गर्छन्। ‘बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ,’ उनले भने।

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए। गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुन गएको उनको भनाइ छ ।

‘भातखानेडाँडा मात्रै फेरिएको छैन, यहाँका मजदुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ,’ उनले भने, ‘पहिले यो ठाउँ जंगल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ।’

अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ। त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ। ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन्।

स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाइन्। उनी पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछिन्। उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्‍याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ। -डम्मर बुढामगर/रासस

प्रकाशित: ९ फागुन २०७९ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast