काठमाडौँ- एस्टन भिल्लालाई पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा दुई अंकको अग्रता कायम गरेको छ। शनिबार भिल्लाको मैदानमा भएको खेल ९० औँ मिनेटसम्म २–२ को बराबरीमा थियो।
तर आतिरिक्त समयमा भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि ३–२ ले अघि बढेको आर्सनलले आखिरमा खेल ४–२ ले जित्यो। आर्सनलको चौथो गोल गाब्रियल मार्टिनेलीले खेल सकिनै लाग्दा गरेका थिए।
यो नतिजापछि आर्सनलको २३ खेलबाट ५४ अंक भएको छ। आर्सनललाई पछ्याइरहेको म्यानचेस्टर सिटीसँग ५२ अंक छ। शनिबार राति नै हुने खेलमा नटिङहम फरेस्टलाई हराए सिटीले आर्सनलसँगको दूरी एक अंकमा झार्नेछ।
निर्धारित ९० मिनेट सकिएको तीन मिनेटपछि आर्सनल आक्रमण बुन्ने प्रयासमा थियो। भिल्लाको बक्समा रहेका मार्टिनेलीले प्रहार गर्न नसकेपछि जर्जिन्होलाई बल पास दिएका थिए। १८ यार्ड बक्सभन्दा केही बाहिर रहेका जर्जिन्होले गरेको शक्तिशाली प्रहार भिल्लाको बारमा लागेर झ¥यो र गोलरक्षक मार्टिनेजलाई लाग्दै गोलमा परिणत भयो।
बराबरी गोल फर्काउन प्रयासरत भिल्लाले केही मिनेटपछि कर्नर पाएको थियो। कर्नरबाट गोलको अवसर सिर्जना हुनसक्ने ठानेर भिल्लाका गोलरक्षक मार्टिनेज आर्सनलको बक्समा पुगेका थिए। तर भिल्लाले कर्नर प्रहार गर्ने वित्तिकै आर्सनलका फाबियो भिएराले बल नियन्त्रणमा लिँदै काउन्टर अट्याक सुरु गरे। भिएराबाट बल पाएका मार्टिनेलीले खाली रहेको भिल्लाको पोस्टमा सजिलै गोल गरे।
त्यसअघि पहिलो हाफमा भिल्लाले ओली वाट्किन्सको गोलमार्फत अग्रता लिएको थियो। राइटब्याक माट्टी क्यासले आर्सनलका जिन्चेन्कोलाई छक्याउँदै दिएको लामो पासलाई वाट्किन्सले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनले आर्सनलका रक्षक विलियम सलिबाको बाधा हटाउँदै गरेको प्रहार पाँचौँ मिनेटमा गोलमा परिणत भएको थियो।
तर गोल खाएको ११ मिनेटपछि नै आर्सनल खेलमा फर्किएको थियो। बेन ह्वाइटको लामो क्रसलाई भिल्लाका रक्षक मिंग्सले हेडद्वारा क्लियर गर्ने प्रयास गरेका थिए। तर उनले हेड गरेपछि बल सिधा साकोको खुट्टामा पुग्यो। अनमार्क्ड रहेका साकाले सजिलै गोल गरे।
पहिलो हाफमा भिल्लाले फेरि एकपल्ट अग्रता लियो। लेफ्ट ब्याक एलेक्स मोरेनोले दिएको पासलाई ब्युन्डियाले नरोकी कौउटिन्हो भएतिर जान दिएका थिए। जसलाई कौउटिन्होले सुन्दर गोलमा परिणत गरे।
लगातार आक्रमण बुनेको आर्सनलले दोस्रो हाफको ६१ औँ मिनेटमा बराबरी गोल गरेको थियो। कप्तान मार्टिन ओडेगार्डले कर्नरबाट अघि बढाएको बल जिन्चेन्कोले पाएका थिए। त्यसपछि उनले भिल्लाको पोस्टको दायाँ बारतिर प्रहार गर्दै गोल गरेका थिए।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


