संखुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रुख कटान

हिमाल प्रेस ६ फागुन २०७९ १४:२५ | Saturday, February 18, 2023
संखुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रुख कटान फाइल तस्बिर।

संखुवासभा– संखुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ।

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो। विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रुख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त संख्यामा रुख काटिएका हुन्।

अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि संखुवासभाका १८ सामुदायिक वनका १४ हजार ६ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख डा. इन्द्र सापकोटाले जानकारी दिए।

उनका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका छ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन्। विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार ४ सय रुख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ।

अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा बाँधक्षेत्र र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा एक सय २३ दशमलव २२ हेक्टरका रुख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ।

अरुण तेस्रो परियोजनाले संखुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ।

कटान भएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताले प्रयोग गर्न पाउने व्यवस्था छ। अरुण तेस्रो आयोजनास्थल बाँध क्षेत्र र विद्युत् गृह स्थल लगिने ३३ केभी प्रसारण लाइनका लागि थप ९ सय ९४ रुख कटान गरिएको छ।

आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडिए)अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था छ।

प्रसारण लाइन विस्तारका लागि करिब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्ने सम्झौता भएको थियो। जलविद्युत् परियोजनाले रुख कटान गर्ने वन कार्यालयले जनाएको छ।

प्रकाशित: ६ फागुन २०७९ १४:२५ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast