काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने पनि बताए।
उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे।
महामन्त्री पौडेलले भने,‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ।’
कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ।



