पोखरा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीमा सञ्चालित विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
शुक्रबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले मन्त्रालयमा मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए।
त्यसक्रममा दुवै मन्त्रीबीच विद्युत्, खानेपानी, सिँचाइ तथा जलस्रोतका विषयमा महत्वपूर्ण छलफल भएको थियो। छलफलपछि दुवै मन्त्रीले विभिन्न आयोजनाको संयुक्त निरीक्षण गरेका थिए।
सो क्रममा मन्त्री श्रेष्ठले रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजना, नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय र पोखरास्थित लेखनाथ सब-स्टेसनको अनुगमन गरेका थिए।
रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी लिएका थिए।
आयोजना व्यवस्थापनका तर्फबाट हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराइएको थियो।
आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी निर्माण कार्यलाई गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाएका थिए।
कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजना ताल संरक्षण, जैविक विविधताको जगेर्ना, पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका दृष्टिले महत्वपूर्ण रहेको उनले बताए।
रूपाताललाई वातावरण संरक्षण र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कास्कीका अन्य तालको संरक्षणका लागि पनि यस्तै योजना बनाउन सकिने उल्लेख गरे।
यसअघि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भएको भेटमा दुवै मन्त्रीबीच फेवाताललगायत प्रदेशका ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका विषयमा छलफल भएको थियो।
छलफलमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य गर्दै ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयसमेत उठाइएको थियो।
त्यसैगरी, लेखनाथ सब-स्टेसनको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पोखरा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका थिए।
उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन तथा विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन र उपयोगिताबारे पनि चासो व्यक्त गरे।

हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।
उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गर्दै विद्युत् वितरण प्रणाली, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएका थिए।
विद्युत् चुहावटलाई निर्धारित लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।
सङ्घ र प्रदेश सरकारबीच समन्वय तथा सहकार्य बढाएर ऊर्जा, जलस्रोत, खानेपानी र सिँचाइ क्षेत्रका आयोजना प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै मन्त्रीबीच छलफल भएको जनाइएको छ।



