काठमाडौँ- मुस्ताङको लोमन्थाङ गाउँपालिका-२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवन उद्घाटन गरिएको छ।
भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको छात्रावास भवन बिहीबार काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
छात्रावास भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको परियोजनाअन्तर्गत निर्माण गरिएको हो। भवन निर्माणले विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थीको सिकाइ वातावरण सुधारमा योगदान पुर्याउने बताएका थिए।

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत नेपालका सातवटै प्रदेशमा हालसम्म ६०५ वटा परियोजना अघि बढाइएको भारतीय राजदूतावासले जनाएको छ। गण्डकी प्रदेशमा मुस्ताङका १८ परियोजनासहित ६४ वटा परियोजना सञ्चालनमा छन्।
यसैगरी, भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको दूतावासले जनाएको छ।
भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यअन्तर्गत सञ्चालन हुँदै आएका उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाल सरकारको विकास, पूर्वाधार विस्तार र समृद्धिको प्रयासलाई सहयोग पुर्याउँदै आएको भारतीय राजदूतावासले जनाएको छ।



