काठमाडौँ– यातायात व्यवसायीको प्रदर्शनका कारण गोँगबुस्थित नयाँ बसपार्क र बालाजु-माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ। सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिएको भन्दै उनीहरूले प्रहरीको भेन जलाएका छन्।
सवारी साधनमा यात्रु चढाउने बेलामा जथाभावी रोकेको, ट्राफिक नियमका नाममा जथाभावी जरिबाना गरेको भन्दै चालक, सहचालक र यातायात सम्बद्ध श्रमिकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा हानेका छन्।
यातायात श्रमिकहरूका कारण गोँगबु, नयाँ बसपार्क, बालाजु र माछापोखरी क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ।
सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले सवारी नियमका नाममा ज्यादती गरेकाले आफूहरू प्रहरी प्रशासनविरुद्ध उत्रिनु परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हिमाल प्रेससँग भने।
‘यसकै विरोधमा मंगलबार उपत्यकामा सवारी साधन सञ्चालन बन्द गर्ने हाम्रो तयारी छ। यसबारे अहिले हामी छलफलमा छौं,’ उनले भने।