काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘हामी सुन्छौं’ कार्यक्रमअन्तर्गत बिहीबार पार्टी केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा नागरिकका विभिन्न गुनासो तथा समस्याहरू सुनुवाइ गरिएको छ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा.ओजस्वी शेरचन र सांसद प्रमोद कुमार महतोले विभिन्न स्थानबाट आएका नागरिकका समस्या, गुनासा तथा मागहरू सुनेका थिए। उनीहरूले नागरिकले उठाएका विषयमा सम्बोधन तथा आवश्यक पहलसमेत गरे।
कार्यक्रममा सहभागी नागरिकहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, न्यायिक क्षेत्रलगायतका विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए। रसिया-युक्रेन द्वन्द्वका कारण प्रभावित भएका आफन्तहरूको उद्धार तथा सुरक्षित स्वदेश फिर्तीका विषयमा समेत ध्यानाकर्षण गराएका थिए। उक्त ध्यानाकर्षण सांसदद्वयले समाधान गर्न सहजता प्रदान गरे।
नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने, सरोकारवाला निकायसम्म पुर्याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘हामी सुन्छौं’ कार्यक्रमले जनतासँग प्रत्यक्ष संवाद र गुनासो सुनुवाइलाई प्राथमिकता दिएको रास्वपाले जनाएको छ।



