काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई अद्यावधिक गरी आधिकारिक मान्यता प्रदान गरेको छ।
यससँगै पार्टीले पूर्ण वैधानिकता प्राप्त गरेको भन्दै नेपाली कांग्रेसकी महामन्त्री डा.डिला संग्रौला पन्तले विगतका तिक्तता र मतभेद बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन पार्टीबाहिर रहेका नेताकार्यकर्तालाई आह्वान गरेकी छन्।
महामन्त्री संग्रौला पन्तले संगठन सुदृढीकरणको अभियानमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीबाट बाहिर रहेका सम्पूर्ण साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्किन हार्दिक आग्रह गरेकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको अवस्थामा विगतका मतभेदलाई बिर्सेर एकताबद्ध भई अघि बढ्नुपर्ने सन्देश दिएकी छन्।
‘विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा संगठन सुदृढीकरणको अभियानमा एकजुट भई अघि बढ्न बाहिर रहनुभएका सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछु,’ उनले भनेकी छन्।



