जनकपुरको रेल स्टेसनमा भारतीय तीर्थयात्रीलाई स्वागत गरिँदै। तस्बिर : रासस
जनकपुरधाम- जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत पहिलो दिन करिब चार सय भारतीय तीर्थयात्री आएका छन्। उनीहृलाई नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा भव्य स्वागत गरिएको छ।
कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खादामाला लगाएर स्वागत तथा सम्मान गरेका हुन्।
तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। उनीहरूका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ।
स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई मंगलबार बिदाइ गरिने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।



