प्रधानमन्न्रीको भारत भ्रमण

छोटो भ्रमण, कसिलो अंकमाल र दीर्घकालीन साझेदारी

हिमाल प्रेस ७ मंसिर २०८३ २१:०८ | Monday, November 23, 2026
6
SHARES
छोटो भ्रमण, कसिलो अंकमाल र दीर्घकालीन साझेदारी

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने दक्षिण छिमेक भारतको भ्रमणले नेपाल-भारत सम्बन्धलाई परम्परागत राजनीतिक र कूटनीतिक संवादबाट विकास, प्रविधि, व्यापार र पूर्वाधारको परिणाममुखी साझेदारीतर्फ लैजाने प्रयास गरेको छ।

छोटो समयमै दुई देशबीच दीर्घकालीन महत्त्व राख्ने विषयमा सहमति हुनु भ्रमणको सकारात्मक पक्ष हो। यसलाई सफल भ्रमणको रुपमा लिन सकिन्छ, तर कार्यावन्यनको पाटोले भ्रमणको सफलताका लागि महत्वपूर्ण भूमिका खेल्ने छ। सरकार गठनको आठ महिनापछि भएको प्रधानमन्त्री शाहको दुईदिवसीय भ्रमणलाई पूर्ण सफलभन्दा पनि अहिले सफल भ्रमणको स्रज्ञा दिन सकिनेछ। किनकि दिल्लीमा भएका सहमति अब नेपालको जमिनमा परियोजना, अर्थतन्त्रमा लगानी र नागरिकको जीवनमा प्रत्यक्ष लाभका रूपमा देखिनुपर्ने कुरा वर्तमान प्रधानमन्त्री आफैँले बोलेका छन्।

प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो द्विपक्षीय भ्रमण थियो। मंसिर ६ र ७ उनको भ्रमणका दिन हुन। तर उनी ६ गते दिउँसो दिल्ली उत्रे  अनि ७ को साँझ नपर्दै स्वदेश फर्किए। भ्रमणमा आएकै दिन उनलाई भारतीय विदेशमन्त्री एस जयशंकरले वार्ता र भ्रमणको तयारीबारे जानकारी गराए। त्यसै दिन जयश‌ंकर नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टै वार्ता गरे।

मुख्य दिन सोमबार (आज) राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ दिएर सुरु भएको थियो। ‘गार्ड अफ अनर’ मा नै प्रधानमन्त्री शाहको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको त्यो बलियो र कसिलो अंकमाल सजिलै अनुमान गर्न सकिने खालकै थियो। त्यही अंकमाल बराबर नै नेपाल भारत सहकार्य हुने देखिन्छ। कसैले त्यो अंकमाल बलियो तर अन्य पाटो कमजोर भन्न सक्लान्, तर अवस्था त्यस्तो होइन। भ्रमणका क्रममा भएका समझदारी र कूटनीतिक पहलहरू सकारात्मक छन् तर कार्यावन्यनमा कति अघि बढ्छ भन्ने मुख्य पाटो हो।

‘गार्ड अफ अनर’ पछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली दिए। प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे। वार्ता सकिए पछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरे। संयुक्त सम्बोधनअघि तयार भएका विषयमा दुई प्रधानमन्त्रीबीच थप छलफल भएर समाधानको बाटो तय भएको थियो। अरु भ्रमण दल हलमा आएर तयारी रुपमा बस्दा विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोलाएर लगेका थिए। आधा घण्टा राजनीतिक परराष्ट्रमन्त्री खनाल र भारतका विदेश सचिव विक्रम मिस्री लगातार आउने जाने गरेपछि पुनः केही बुँदा परिवर्तन भए र सबै हाँसिलो मुहारमा हलमा प्रवेश गरेका थिए। त्यसपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।

सम्बोधनपछि दुवै देशले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नुका साथै ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त भिजन दस्तावेज सार्वजनिक गरे।

भ्रमणको सबैभन्दा ठूलो उपलब्धि आर्थिक सहयोगको घोषणा हो। भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ अर्थात दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधारका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा समावेश छ।

यो सहयोग विशेषगरी गत अगस्तमा रसुवा-भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र दीर्घकालीन विकाससँग जोडिएको छ। यहाँ एउटा महत्त्वपूर्ण पक्ष बुझ्नुपर्छ, २४ हजार करोड रुपैयाँको सम्पूर्ण रकम अनुदान नभए पनि न्यून दरमा दिइएको सहयोग ऋण हो।

त्यसको ठूलो हिस्सा ऊर्जा परियोजनाका लागि ऋण सुविधा हो। कुन परियोजनामा कति रकम खर्च हुन्छ र सहयोगको प्रक्रिया कस्तो हुनेछ भन्ने विषय दुवै देशबीचको थप परामर्शबाट टुंगिनेछ। त्यसैले यसलाई तत्काल प्राप्त बजेटभन्दा पनि विकास साझेदारीको ठूलो वित्तीय प्रतिबद्धताका रूपमा बुझ्नु उचित हुन्छ। यो सहयोग नेपालका लागि ठूलो आवश्यकता थियो।

तर भ्रमणको महत्त्व आर्थिक सहयोगको आकारमा मात्रै सीमित छैन। दुई देशले पहिलोपटक आगामी दिनको साझेदारीलाई दसवटा क्षेत्रमा समेटेर साझा भिजन दस्तावेज अघि सारेका छन्। यसले परम्परागत सम्बन्धलाई नयाँ आर्थिक र प्राविधिक आवश्यकतासँग जोड्न खोजेको छ।

व्यापार तथा लगानी, भौतिक र डिजिटल कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत, जलवायु उत्थानशीलता, सुशासन, प्रविधि तथा नवप्रवर्तन, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषि यसका मुख्य आधार रहेको पनि त्यसलाई नियाल्दा बुझ्न सकिन्छ।

यसको अर्थ नेपाल-भारत सम्बन्धलाई अब केवल सीमापार व्यापार, पारवहन, जलविद्युत् र राजनीतिक भेटघाटमा सीमित राख्ने सोचबाट बाहिर निकाल्न खोजिएको छ। विशेषगरी डिजिटल अर्थतन्त्र, एआई, स्टार्टअप, डेटा सेन्टर, सीप विकास र कृषि प्रशोधनलाई दुई देशको साझेदारीमा समेटिनु नयाँ पक्ष हो।

भिजन दस्तावेजमा नेपाली भाषाका लागि ठूलो भाषा मोडल विकास गर्न भारतको भाषिणी प्रणालीसँग सहकार्य गर्ने विषय समेटिएको छ। काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स र पोखरामा डिजिटल नोमाड्स तथा इनोभेसन हब स्थापना गर्ने योजना पनि छ।

नेपालमा डिजिटल पार्क र डेटा सेन्टर विकासमा सहकार्य गर्ने सहमति भएको छ। यसले नेपालको युवा जनशक्तिलाई सूचना प्रविधि र डिजिटल अर्थतन्त्रमा अवसर सिर्जना गर्न सक्ने सम्भावना बोकेको छ।

नेपालमा भारतीय प्रविधि तथा शैक्षिक संस्थाको उपस्थिति विस्तार गर्ने विषयलाई पनि भ्रमणको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन सकिन्छ। नेपालमा भारतीय प्राविधिक संस्थान (आईआईटी) को कलेज स्थापना गर्ने सहमति भएको छ। आईआईटी कानपुरको सहकार्यमा नेपालमा इन्जिनियरिङ कलेज सञ्चालनमा आउने भारतीय पक्षले जनाएको छ। यद्यपि यस विषयमा हाल टुंगो लागेको छैन।

कानुन, प्रविधि र एआई जस्ता नयाँ विषयमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्ने तथा सीप विकासका लागि व्यावसायिक तालिम संस्था स्थापना गर्ने विषय पनि समझदारीमा समेटिएको छ। यी कार्यक्रमलाई प्रभावकारी बनाउनसके नेपालले आफ्नो जनशक्तिलाई विदेश पठाउने मात्र होइन, देशभित्रै प्रविधि र उद्यमशीलताको आधार विकास गर्न सक्छ।

कनेक्टिभिटीका क्षेत्रमा भएका सहमति पनि उत्तिकै महत्त्वपूर्ण छन्। अयोध्या र जनकपुरबीच ‘सरयू-कमला एक्सप्रेस’ रेल सेवा सुरु गरिएको छ। महाकाली नदीमा धार्चुला र दार्चुलालाई जोड्ने मोटर चल्ने पुल उद्घाटन भएको छ। बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ। रक्सौल-काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने भएको छ।

यी परियोजनाको महत्त्व धार्मिक र सांस्कृतिक पर्यटनमा मात्र छैन। नेपालको उत्पादनलाई भारतीय बजारसम्म पुर्‍याउने, यात्रु आवागमन सहज बनाउने र सीमावर्ती अर्थतन्त्रलाई गतिशील बनाउने सम्भावना पनि यसमा जोडिएको छ। तर रेलमार्गको सर्वेक्षण पूरा हुनु र रेल सञ्चालन हुनु फरक कुरा हुन्। त्यसैले आगामी दिनमा लगानी, निर्माणको समयसीमा र कार्यान्वयनको जिम्मेवारी स्पष्ट हुनुपर्छ।

पारवहनका क्षेत्रमा पनि नयाँ सम्भावना खुलेको छ। भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह अर्थात् काण्डला हुँदै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि नयाँ पहुँच उपलब्ध गराउने घोषणा भएको छ। ओडिसास्थित पारादीप बन्दरगाहसम्म पनि आवश्यक पूर्वाधार तयार भएपछि पहुँच दिने सहमति छ।

भूपरिवेष्ठित नेपालका लागि समुद्री बन्दरगाहसम्मको पहुँच विस्तार हुनु व्यापारिक प्रतिस्पर्धा र पारवहन विकल्प बढाउने विषय हो। तर नयाँ बन्दरगाहको पहुँचले मात्रै नेपालको व्यापार लागत घट्दैन। त्यसका लागि रेल तथा सडक सम्पर्क, भन्सार प्रक्रिया, ढुवानी समय र बन्दरगाहको शुल्कसमेत प्रतिस्पर्धी हुनुपर्छ।

हवाई कनेक्टिभिटीमा पनि उल्लेखनीय सहमति भएको छ। यसअघि एकतर्फी रहेको काठमाडौं-भैरहवा-लखनऊ ‘बी-३४५’ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। यो हवाई मार्गका लागि नेपाल लामो समयदेखि प्रयासरत थियो। प्रधानमन्त्रीद्वय शाह र मोदीबीच भएको ‘वान अन वान’ वार्तामा नेपाललाई भैरहवा-लखनऊ हवाई मार्ग उपलब्ध गराउने सहमति जुटेको हो। भारतले यो हवाई मार्ग उपलब्ध गराउनु नेपालका लागि ठूलो उपलब्धि हो। यसका प्राविधिक पक्ष टुंग्याउन दुवै देशका अधिकारीले छलफल गर्नेछन्।

भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोग बढाउन भारतीय सहरसँग थप हवाई सम्पर्क आवश्यक छ। त्यसैले यो सहमतिलाई केवल एउटा हवाई मार्गको प्राविधिक विषयका रूपमा होइन, नेपालको पर्यटन र क्षेत्रीय आर्थिक कनेक्टिभिटीसँग जोडेर अघि बढाउनुपर्छ।

ऊर्जा सहकार्यमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास अर्को महत्त्वपूर्ण उपलब्धि हो। भारतले नेपालका जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्ने र दुवै देशले विद्युत् व्यापार विस्तार गर्ने सहमति गरेका छन्।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई तीव्रता दिने विषय पनि उठेको छ। यसले ऊर्जा व्यापारलाई बाढी नियन्त्रण र जलस्रोतको बहुउद्देश्यीय उपयोगसँग जोड्ने सम्भावना देखाएको छ।

पेट्रोलियम पूर्वाधारमा मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण भएको छ। झापामा नयाँ पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। सिलिगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइपलाइन निर्माणलाई शीघ्र अघि बढाउने तथा सम्भावित ग्यास पाइपलाइनबारे पनि अध्ययन गर्ने सहमति भएको छ।

नेपालले पेट्रोलियम पदार्थको आपूर्तिमा ढुवानी जोखिम र लागत घटाउन खोजिरहेको अवस्थामा यी पूर्वाधारको दीर्घकालीन महत्त्व छ।

भ्रमणमा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य, अन्तरिक्ष तथा स्याटकम नेटवर्क, दिगो सहरी विकास र पशुधन तथा मत्स्य विकास यसका क्षेत्र हुन्।

यी समझदारीले दुई देशबीचको सहकार्यलाई सरकारी तहको भेटघाटभन्दा संस्थागत र प्राविधिक तहसम्म विस्तार गर्ने आधार बनाएका छन्।

यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष कृषि हो। चितवनमा भारतको अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ। यसको उद्देश्य नेपाली कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि र बजार विस्तार गर्नु हो।

नेपालमा कृषि उत्पादन बढाउने चर्चा धेरै हुन्छ, तर उत्पादनपछि भण्डारण, प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनमा पर्याप्त लगानी हुन सकेको छैन। त्यसैले चितवनको प्रस्तावलाई किसानको आम्दानी, कृषि उद्योग र रोजगारीसँग जोडेर अघि बढाउन सक्नुपर्छ।

विशेषगरी भ्रमणको संयुक्त संयुक्त दृष्टि पत्रले जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई द्विपक्षीय सम्बन्धको नयाँ प्राथमिकताका रूपमा समेटेको छ। नेपाल र भारतबीच जलमौसमसम्बन्धी तथ्यांक, हिमतालको निगरानी र पूर्वसूचना प्रणालीको वास्तविक समयमै दुईतर्फी आदानप्रदान गर्ने सहमति भएको छ।

हिमालयबाट बग्ने नदीले दुवै देशको जनजीवन प्रभावित गर्ने भएकाले यो विषय सामान्य प्राविधिक सहकार्यभन्दा धेरै महत्त्वपूर्ण छ। नेपालमा आउने बाढीको पूर्वसूचना, सीमापार नदीको बहाव र जलाधार क्षेत्रको तथ्यांकमा सहकार्य हुन सके हजारौँ मानिसको जीवन र अर्बौंको पूर्वाधार जोगाउन सकिन्छ।

यसरी भ्रमणको उपलब्धि केवल भौतिक पूर्वाधारमा सीमित छैन। दुई देशबीचको सम्बन्धलाई नयाँ कानुनी र राजनीतिक आधारमा लैजाने विषय पनि संयुक्त दस्तावेजमा परेको छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख गरिएको छ। जलस्रोत, ऊर्जा, व्यापार र सीमा सम्बन्धी बाँकी विषय पनि संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो विषय नेपालको लामो समयदेखिको चासोसँग जोडिन्छ। नेपालले भारतसँगको सम्बन्धलाई समानता, सार्वभौमिकता र पारस्परिक लाभका आधारमा अघि बढाउन चाहेको छ। त्यसका लागि पुराना सन्धि तथा सम्झौताको पुनरावलोकन आवश्यक ठानिँदै आएको छ। यसपटक संयुक्त दस्तावेजमै त्यसको सम्भावना उल्लेख हुनु सकारात्मक संकेत हो। तर पुनरावलोकनको सम्भावना व्यक्त हुनु र त्यसमा ठोस सहमति हुनु फरक विषय हुन्। त्यसैले यसलाई उपलब्धिभन्दा पनि आगामी वार्ताको महत्त्वपूर्ण आधार मान्नुपर्छ।

सीमा समस्यामा भने अपेक्षाकृत सीमित प्रगति देखिएको छ। सीमा स्तम्भको मर्मतसम्भार र संयुक्त स्थलगत कार्यमा भएको प्रगतिलाई दुई पक्षले स्वागत गरेका छन्। बाँकी सीमा सम्बन्धी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपालीमा सम्बोधन गरे। जुन अब्बल थियो। सकमक्षी मोदीले हिन्दीमा सम्बोधन गर्ने भएपछि उनले पनि नेपालीमा गर्ने भनेका थिए। अन्तिम चरणमा आएर अंग्रेजीबाट नेपालीमा भएको हो। यसरी नियाल्दा लामो तयारी र मसिना कुरामा पनि ध्यान दिएर भ्रमण अब्बल बनाउने प्रयास भएको देखिन्छ। नेपालको तर्फबाट पनि लामो समयदेखि तयारी भएको थियो। पूर्वप्रधानमन्त्रीका कुरा सुनेनन् वा अन्य केही कुरा गरेनन् भन्नेलाई यो तयारीले जवाफ पुगेको देखिन्छ।

परीक्षा कार्यान्वयनमा

बालेन भ्रमणको एउटा उल्लेखनीय पक्ष यसको कार्यान्वयन संयन्त्र हो। दुई प्रधानमन्त्रीले नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने निर्णय गरेका छन्। यो समूह कम्तीमा प्रत्येक छ महिनामा बैठक बसेर परियोजना तथा समझदारीको कार्यान्वयनमा देखिएका अवरोध हटाउन काम गर्नेछ।

यसले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने संयुक्त आयोगमा पेस गर्नेछ। संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा गर्ने सहमति भएको छ।

यो व्यवस्था महत्त्वपूर्ण छ। नेपाल-भारत सम्बन्धमा विगतमा पनि धेरै सम्झौता र घोषणा भएका छन्। तर कतिपय आयोजना वर्षौंसम्म अलपत्र परेका छन्। पञ्चेश्वर यसको एउटा उदाहरण हो। रेलमार्ग, हवाई मार्ग, जलविद्युत्, प्रसारण लाइन र सीमा पूर्वाधारका परियोजनामा पनि घोषणाअनुसार प्रगति हुन नसकेका दृष्टान्त छन्। त्यसैले यसपटक अनुगमन समूहलाई नियमित बैठक, स्पष्ट कार्यतालिका र परिणामको जवाफदेहितासहित अघि बढाउनुपर्छ।

यसका लागि नेपालले आफ्ना प्राथमिकता पनि स्पष्ट पार्नुपर्छ। कुन परियोजना पहिले सम्पन्न गर्ने, कुनमा अनुदान र कुनमा ऋण लिने, कुन आयोजनाले तत्काल रोजगारी सिर्जना गर्छ र कुनले दीर्घकालीन उत्पादन क्षमता बढाउँछ भन्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण आवश्यक छ। ऋण सुविधाको उपयोग गर्दा आयोजनाको आर्थिक प्रतिफल, वातावरणीय प्रभाव र वित्तीय दायित्वको मूल्यांकन गर्नुपर्छ। भारतको सहयोग लिनु र नेपालको राष्ट्रिय हित सुनिश्चित गर्नु परस्पर विरोधी विषय होइनन्।

यस भ्रमणले भारतसँगको सम्बन्धमा नेपालको नयाँ पुस्ताको अपेक्षा पनि प्रस्तुत गरेको छ। प्रधानमन्त्री बालेनले संयुक्त वक्तव्यमा समझदारी र परियोजनाको लाभ किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र विद्यार्थीका सपनामा नयाँ अवसरका रूपमा देखिनुपर्ने धारणा राखेका छन्। यो अभिव्यक्ति भ्रमणको विकासमुखी उद्देश्यसँग मेल खान्छ। अब सरकारले त्यसलाई नीति र कार्यान्वयनमा रूपान्तरण गर्नुपर्छ।

भारतका लागि पनि नेपालसँगको सम्बन्धको महत्त्व केवल छिमेकीको सुरक्षा वा राजनीतिक स्थिरतामा सीमित छैन। नेपालको जलविद्युत्, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र क्षेत्रीय सम्पर्क विस्तार भारतको आफ्नै आर्थिक तथा रणनीतिक हितसँग जोडिन्छ। नेपालमा उत्पादित स्वच्छ ऊर्जा भारतको बजारमा पुग्नु, भारतीय लगानीले नेपाली उत्पादन र रोजगारी बढाउनु तथा दुवै देशका नागरिकलाई सहज आवागमन उपलब्ध हुनु साझा हितका विषय हुन्।

अर्कोतर्फ, भारतले पनि नेपालसँगको सम्बन्धमा पारस्परिक विश्वास र संवेदनशीलतालाई व्यवहारमा देखाउनुपर्छ। सीमा, व्यापार, पारवहन र जलस्रोतका विषयमा नेपालको चासोलाई समान महत्त्व दिन सके मात्रै नयाँ साझेदारी बलियो बन्न सक्छ। नेपाललाई सहयोग गर्ने भारतको प्रतिबद्धता त्यतिबेला अझ विश्वसनीय हुन्छ, जतिबेला दुई देशबीचका असमझदारी समाधान गर्न पनि त्यस्तै तत्परता देखिन्छ।

बालेनको भ्रमणको एउटा सकारात्मक सन्देश यही हो-नेपाल-भारत सम्बन्धलाई विगतका राजनीतिक उतारचढाव र अविश्वासबाट बाहिर निकालेर भविष्यको साझा आर्थिक समृद्धिसँग जोड्ने प्रयास भएको छ। धार्मिक तथा सांस्कृतिक सम्बन्धले दुई देशलाई नजिक राखेको छ। अब त्यसलाई व्यापार, प्रविधि, ऊर्जा, शिक्षा, कृषि र रोजगारीको बलियो आधारमा रूपान्तरण गर्नुपर्नेछ।

दुईदिने भ्रमणमा भएका सहमति आफैँमा अन्तिम उपलब्धि नभए पनि तिनले सम्बन्धको नयाँ दिशा र सम्भावनाको खाका अवश्य दिएका छन्। ‘विकसित भारत २०४७’ को भारतीय लक्ष्य र ‘समुन्नत नेपाल’ को नेपाली आकांक्षालाई जोड्ने साझा दस्तावेजले दुवै देशलाई सहकार्यको नयाँ आधार दिएको छ। अब नेपालले यसमा आफ्नो राष्ट्रिय प्राथमिकता स्पष्ट राख्दै कार्यान्वयनमा नेतृत्व लिन सक्नुपर्छ।

दिल्लीबाट काठमाडौँ फर्किएको प्रधानमन्त्रीको भ्रमण सकिएको छ, तर त्यसले खोलेको सम्भावनाको यात्रा भर्खर सुरु भएको छ। यसको वास्तविक सफलता घोषणाको संख्याले होइन, नेपालमा निर्माण हुने पूर्वाधार, बढ्ने उत्पादन, सिर्जना हुने रोजगारी र नागरिकले अनुभूत गर्ने समृद्धिले निर्धारण गर्नेछ।

प्रकाशित: ७ मंसिर २०८३ २१:०८ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast