वेब सिरिज ‘सायराः ए मिरोर अफ सोसाइटी’ निर्माण हुने

हिमाल प्रेस ६ मंसिर २०८३ ११:१३ | Sunday, November 22, 2026
2
SHARE
वेब सिरिज ‘सायराः ए मिरोर अफ सोसाइटी’ निर्माण हुने

काठमाडौँ- वेब सिरिज ‘सायराः ए मिरोर अफ सोसाइटी’ निर्माण हुने भएको छ। अमेरिकाबाट व्यावसायिक यात्रा सुरु गर्न लागेको अस्त्र सिने स्टुडियोजले नेपालस्थित र्‍याड स्टुडियोजसँगको सहकार्यमा वेब सिरिज निर्माण गर्न लागेको हो। वेब सिरिजमा किशोर भण्डारीको लेखन तथा निर्देशन रहनेछ । सिरिजले ‘स्टोरीज द्याट स्ट्राइक लाइक स्टार्स’ नारा बोकेको छ।

चाँडै नै छायांकनमा जाने यो सिरिज आगामी माघ १ गते अर्थात् जनवरी १५ बाट रिलिज हुनेछ। हाल यो सिरिजका लागि चर्चित नेपाली सम्पादक निशान घिमिरेले चिफ एडिटर र प्रोजेक्ट हेडका रुपमा काम गरिरहेका छन्। निर्माण पक्षले वेब सिरिजको फस्टलुक पनि सार्वजनिक गरेको छ । जसमा ‘सायरा’ नामको पछाडि एक महिला चस्मा लगाएर कतै हेरिरहेकी छन्। त्यसभन्दा ठिक तल एक महिला उपत्यका जस्तै देखिने स्थानतर्फ हिँडिरेहकी छन् भने उनको दाँया र बाँया केही मानिस बसिरहेको देख्न सकिन्छ।

‘आजको डिजिटल दुनियाँको लतले आम मानिसको ध्यानलाई विकृत काममा डाइभर्ट गरिरहेको छ । यो सिरिजको उद्देश्य त्यता सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै विशुद्ध जनचेतनासँगै मनोरञ्जन सँगै परिवारसँग बसेर आनन्दका साथ दर्शकले सिरिज हेरुन् भन्ने हाम्रो चाहना हो’, निशानले भने, ‘सिरिजलाई बहुभाषिक बनाउनेछौं। सिरिजलाई अन्तर्राष्ट्रिय बजारीकरण गरेर नेपाली कथालाई विश्वव्यापी देखाउने हाम्रो उद्देश्य हो।’

निशानले सांस्कृतिक विविधता स्वरुप कथाको माग अनुसार नेपाल र अमेरिकामा पनि छायांकन गर्ने तयारी भइरहेको खुलाए । ‘सिरिजलाई अंग्रेजी सबटाइटल गरेर विश्वका विभिन्न देशमा पनि सहजै हेर्न सकिने बनाउने योजना छ,’ उनले भने, ‘केही समयपछि नै सिरिजको कलाकार र टिम सदस्यहरु पनि सार्वजनिक गर्नेछौं।’

दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्म र म्यूजिक भिडियोको विकास तथा रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निशानले सन् २०२४ मा अमेरिकामा भएको अमेरिकन फिल्म मार्केटको ४५ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।

अमेरिकाको लस भेगासस्थित पाम्स क्यासिने रिर्सोटमा भएको कार्यक्रममा विश्वभरका ८० देशबाट सहभागी व्यक्तिहरुले फिल्म लगानी तथा वित्तिय व्यवस्थापन, निर्माण, वितरण, नयाँ प्रविधि, कृत्रिम बुद्धिमता(एआई), फिल्म स्ट्रिमिङ र कथावाचनलगायतका विषयमा आफ्नो विचार राखेका थिए।

निशानले आफ्नो कम्पनी र्‍याड स्टुडियोमार्फत नेपाली फिल्मका विशिष्ट विशेषताहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए। उनले नेपालमा कथावाचन परम्परा, फिल्म निर्माणमा प्रयोग भइरहेका आधुनिक प्रविधि र फिल्म छायांकनका लागि उपर्युक्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरुको महत्वलाई जोड दिएका थिए।

सन् २०२३ मा बेलायतको लण्डनमा आयोजित ‘फोकस २०२३ः मीट द मेकर्स’ सम्मेलनमा पनि सहभागिता जनाउँदै नेपाली फिल्म उद्योगको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ६ मंसिर २०८३ ११:१३ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast