पोखरा- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफूलाई मार्ने षड्यन्त्र भएको दाबी गरेका छन्। उनले काल नआएका कारण आफू र पत्नी आरजू मृत्युको मुखबाट बाँचेर फर्किएको बताए।
आफूनिकट नेपाली कांग्रेस गण्डकी प्रदेशको शनिबार पोखरामा नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले जेनजीकै कारण बाँचेर आएको पनि बताए।
उनले भने, ‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ। जेनजीहरुले मलाई बचाएका हुन्। फोटोमा देखिन्छ, ती बच्चाहरुले मलाई बचाएका हुन्।’
उनले अगाडि भने, ‘जेनजीको नाममा ५० वर्ष माथिकाले लाठो ल्याएर पिटेका हुन्, ढुंगा हाने। त्यसमा धेरै ठूलो षड्यन्त्र थियो। सेना आउने बाटोसमेत छेकेर आफू र श्रीमती आरजुमाथि कुटपिट गरे।’
देउवाले आन्दोलनका क्रममा आफूहरूमाथि भएको सांघातिक आक्रमण, उद्धारको नाटकीय घटनाक्रम र पार्टीभित्रको वर्तमान विवादबारे गम्भीर खुलासा गरे। उनले भने, ‘हामीलाई मारिसकेका थिए, सेनाको उपचार पाएर बच्यौँ।’
उनले आफूहरूमाथि भएको प्रहार व्यक्ति विशेषभन्दा पनि नेपाली कांग्रेसको नेतृत्व ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाए। आन्दोलनका क्रममा आफूहरूमाथि कुटपिट हुँदा गम्भीर चोट लागेको र शरीरमा अझै घाउका दागहरू बाँकी रहेको उनको भनाइ थियो।
उनले विदेशका दुई ठाउँमा गई उपचार गरेर आफू पूर्णरुपमा स्वस्थ भएको भए तापनि श्रीमती आरजुको उपचार भइरहेको जानकारी दिए। उनले नबोली नहुने भएकाले बोलिरहेको पनि बताए।
उनले कृष्णप्रसाद भट्टराईको आश्रम, बीपीको बाबुको घर विराटनगरमा, गणेशमानसिंहको घर, देशभरी कांग्रेस पार्टी कार्यालयमा पनि हान्नुलाई कांग्रेसको खिलापको षड्यन्त्र हो भनी बुझ्नुपर्ने बताए। आफूमाथि आक्रमण गर्नुपर्छ भन्नेहरुलाई नै गगन थापाले टिकट वितरण गरेको उनले आरोप छ।
देउवाले प्रश्न गरे, ‘देशभर हाम्रा पार्टी कार्यालयहरू ढालिए। यो व्यक्तिगत रिसइबी मात्र नभई नेपाली कांग्रेसको अस्तित्वविरुद्धको सुनियोजित तानाबाना हो भन्ने बुझ्नुपर्छ।’
आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइएको देउवाले आरोप लगाए। उनले भने, ‘शेरबहादुर देउवाको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई टिकट दियो। मलाई मार्नुपर्छ भन्नेलाई पनि टिकट दियो–४ नम्बरमा। स्पष्ट भैसक्यो, देशभर हाम्रो नेताजीहरुको घरमा आगो लगाउने र हामीलाई मार्न खोज्ने को को छ स्पष्ट भैसकेको छ।’
उनले पार्टीको विशेष महाधिवेशन बोलाउने प्रक्रिया र यसको वैधानिकतामाथि प्रश्न पनि उठाए। विशेष महाधिवेशनका लागि विधानतः ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको आधिकारिक हस्ताक्षर आवश्यक पर्ने र त्यसको सनाखत हुनुपर्ने उनको तर्क छ।
‘विशेष अधिवेशन गर्न पाइन्छ, विगतमा सुवर्ण शमशेरले पनि गर्नुभएको हो। तर ४० प्रतिशतले सहीछाप गरेर सभापतिलाई बुझाउनुपर्छ। त्यो हस्ताक्षर ठीक छ कि छैन, सनाखत कसले गरेको छ? परीक्षण हुनुपर्दैन?’ उनको तर्क छ।
विशेष महाधिवेशन नाममा जबरजस्ती पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसको सशक्त प्रतिवाद गर्नु आफ्नो कर्तव्य भएको बताए।



