दिल्लीमा बालेन्द्रलाई राज्यमन्त्रीले स्वागत गर्ने, कुन प्रधानमन्त्रीलाई कसले गरे स्वागत?

हिमाल प्रेस ५ मंसिर २०८३ २१:३३ | Saturday, November 21, 2026
22
SHARES
दिल्लीमा बालेन्द्रलाई राज्यमन्त्रीले स्वागत गर्ने, कुन प्रधानमन्त्रीलाई कसले गरे स्वागत?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री प्रसादले स्वागत गर्ने निश्चित भएको हो।

प्रधानमन्त्री शाहको आइतबार दिउँसो १ : ४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुई दिन राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्।

प्रधानमन्त्री शाहको स्वागतका लागि वाणिज्य तथा उद्योग राज्यमन्त्री आउने भएकाले पनि उनको यो भ्रमण विकास साझेदारीमा केन्द्रित रहने अनुमान गरिएको छ।

भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीहरूलाई भारतका प्रधानमन्त्रीदेखि विभिन्न तहका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेको इतिहास छ। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा स्वागत गरेका थिए।

सन् २००६ मा भारत भ्रमणमा गएका कोइरालालाई शिष्टाचार नियम तोड्दै भारतीय प्रधानमन्त्री सिंह रनवेसम्मै पुगेर स्वागत गरेका थिए। त्यसयता नेपालको तर्फबाट भएका कुनै पनि प्रधानमन्त्रीलाई भारतीय समकक्षीले विमानस्थल पुगेर स्वागत गरेका छैनन्।

सन् २००८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह राज्यमन्त्री सकील अहमद र विदेश सचिव शंकर मेननले स्वागत गरेका थिए।

सन् २०११ मा डा.बाबुराम भट्टराईलाई भारतीय विदेश मन्त्रालयका शिष्टाचार प्रमुख रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन राजदूत जयन्त प्रसादले विमानस्थलमा स्वागत गरेका थिए।

त्यसपछि सन् २०१६ को फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भारतका तत्कालीन विदेशमन्त्री सुषमा स्वराज स्वागतका लागि विमानस्थल पुगेका थिए।

सन् २०१६ कै सेप्टेम्बरमा भारत भ्रमणमा पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भारतीय विदेशमन्त्री सुषमा स्वराजले नै स्वागत गरेकी थिइन्।

सन् २०१७ अगस्तमा भारत भ्रमण गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि स्वागत गर्न स्वराज नै विमानस्थल पुगेकी थिइन्।

त्यस्तै सन् २०१८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका थिए।

सन् २०२२ मा भारत भ्रमणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए। त्योबेला उनलाई विमानस्थलमा स्वागत गर्न भारतका तत्कालीन पर्यटन तथा सुरक्षा राज्यमन्त्री अजय भट्ट पुगेका थिए।

सन् २०२३ मा प्रचण्ड तेस्रोपटक भारत भ्रमणमा गएका थिए। त्योबेला उनलाई भारतका विदेश तथा संस्कृत राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ।

साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, निजी क्षेत्रका प्रतिनिधिलगायतका उच्चपदस्थ पदाधिकारी सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast