काठमाडौँ- छिमेकी मुलुक भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे आफ्नो कार्यभार सम्हाल्न मंगलबार नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र भइरहेका बेला पाण्डे दिल्ली पुगेका हुन्।
भारतका लागि राजदूत नियुक्त पाण्डेलाई नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिले स्वागत गरेका छन्। दूतावासले मंगलबार एक सूचना जारी गर्दै पाण्डे भारत आइपुगेको जानकारी दिएको हो।
प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्। यद्यपि दुवै देशका सरकारले भ्रमणको औपचारिक घोषणा गरिसकेका छैनन्। प्रधानमन्त्रीको भ्रमणअघि नै दिल्ली पुगेका पाण्डेले भ्रमणलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन आवश्यक कूटनीतिक तयारीमा भूमिका खेल्नेछन्।
स्रोतका अनुसार पाण्डेले प्रधानमन्त्रीको भ्रमणअघि नै भारतका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने गरी भारत सरकारले तयारी गरिरहेको छ। त्यसपछि उनी औपचारिक रूपमा राजदूतको जिम्मेवारीमा सक्रिय हुनेछन्। प्रधानमन्त्रीको भ्रमणको समयतालिका र तयारीलाई समेत ध्यानमा राखेर उनले आफ्नो कार्यभार सम्हाल्न ढिलाइ नगरी दिल्ली पुगेका हुन्।
पाण्डेको नियुक्तिका लागि भारतले नै फास्ट ट्र्याकमा सहमति (अग्रिमा) दिएको थियो। सरकारले भारतसहित विभिन्न देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये पाण्डेको नाममा भारतले तुलनात्मक रूपमा छिटै सहमति जनाएको थियो। पहिले पहिलेका प्रस्तावित हरुलाई समय लाग्ने गरेको भए पनि उनको हकमा छिटो भएको थियो।
परराष्ट्र मामिला, कूटनीति तथा रणनीतिक अध्ययनमा लामो अनुभव भएका पाण्डेका लागि भारतमा राजदूतको जिम्मेवारी महत्त्वपूर्ण मानिएको छ। नेपाल-भारत सम्बन्धका विविध आयाम, उच्चस्तरीय राजनीतिक संवाद र द्विपक्षीय मुद्दालाई अघि बढाउने चुनौती उनका सामु छ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले दुई देशबीचको उच्चस्तरीय संवादलाई गति दिने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा भ्रमणअघि नै राजदूतको उपस्थिति र सक्रियताले भ्रमणको तयारी तथा त्यसपछिको कूटनीतिक कार्यसूचीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास सरकारको छ।



