छठ पर्व : डालो, नाङ्लो, डोको, कोनिया र ढाकी किन्नेबेच्नेको भीड

हिमाल प्रेस २९ कार्तिक २०८३ ७:०८ | Sunday, November 15, 2026
छठ पर्व : डालो, नाङ्लो, डोको, कोनिया र ढाकी किन्नेबेच्नेको भीड

सुनसरी- आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ। तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो।

छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ।

रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै रु तीन लाखभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताए। उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएका छन्। स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए।

अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताए। छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उनको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए। आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।

आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन्।

सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ र सजावट गरिएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ।

सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ।

प्रकाशित: २९ कार्तिक २०८३ ७:०८ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast