आवासीय विद्यालय बनाउन दीपशिखा माविमा महायज्ञ, तीन करोड संकलन गर्ने लक्ष्य

हिमाल प्रेस २७ कार्तिक २०८३ ६:४६ | Friday, November 13, 2026
आवासीय विद्यालय बनाउन दीपशिखा माविमा महायज्ञ, तीन करोड संकलन गर्ने लक्ष्य

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ।

आगामी मंसिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को आज गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरे।

विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत पठनपाठन, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिए।

उनका अनुसार विपन्न, भौगोलिक रूपमा विकट तथा पहुँचबाहिरका स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि बढाउने लक्ष्य राखिएको छ।

प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर सुधार गरी अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजानुपर्ने बाध्यता कम गर्नु पनि महायज्ञको उद्देश्य रहेको उनले बताए।

महायज्ञबाट रु तीन करोड संकलन र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीले बताए।

महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको उनले जानकारी दिए। प्रवास तथा देशका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको उनको भनाइ छ।

महायज्ञमा भागवत पाठ-पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती र झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन्। विसं २०१७ मा स्थापना भएको विद्यालयमा विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिए।

प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख शैक्षिक चुनौती बनेको उल्लेख गर्दै दीपशिखा माविले अघि सारेको स्मार्ट तथा आवासीय विद्यालयको अवधारणा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले विद्यालयको अभियानलाई प्रदेश तहबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए। महायज्ञ सुरु हुनुअघि कुहुँदेखि टोड्के हुँदै पूर्णगाउँ भएर पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो।

प्रकाशित: २७ कार्तिक २०८३ ६:४६ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast