फाइल तस्बिर
नुवाकोट- असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको छ। बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो।
वर्षा र असिनाबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम आगामी सोमबारदेखि सुरु गरिने जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ।
कार्यालय प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार प्रारम्भिक जानकारीमा किसानले भित्र्याउन बाँकी राखेको धानबालीमा असर पुगेको पाइएको छ। जिल्लाका सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गरी विवरण संकलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उनले बताए।
कार्यालयका अनुसार यस वर्ष नुवाकोटमा करिब १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमध्ये करिब ८० प्रतिशत धान किसानले भित्र्याइसकेका छन्। बाँकी धान भित्र्याउने तयारी भइरहेका बेला परेको असिना र वर्षाले केही क्षति पुर्याएको हो।
दसैँ र त्यसलगत्तै परेको वर्षाका कारण पाकेको धान समयमै भित्र्याउन नसक्दा अहिले काटेर खेतमा राखिएको धान भिजेको बेलकोटगढी नगरपालिका–८ का किसान विष्णुप्रसाद पुडासैनीले बताए। उनका अनुसार वर्षा र असिनाले धान भिजाए पनि क्षतिको प्रभाव मध्यम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको छ।
पछिल्ला दुई वर्ष धान भित्र्याउने समयमा भएको बेमौसमी वर्षाका कारण नुवाकोटका किसानले उत्पादनको आधाभन्दा बढी हिस्सा गुमाउनुपरेको थियो। यस वर्ष भने अधिकांश किसानले धान भित्र्याइसकेकाले क्षति तुलनात्मक रूपमा कम हुने प्रारम्भिक अनुमान गरिएको छ। खेतमा काटेर राखिएको धानको परिमाण पनि कम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको किसानको भनाइ छ।
यसैबीच, वर्षामा भिजेको धानलाई राम्ररी सुकाएर मात्र भित्र्याउन कृषि प्राविधिकले किसानलाई सुझाव दिएका छन्। बाली विकास अधिकृत अस्मिता बजगाईले पानीले भिजेको धानलाई तत्काल बिटा लगाएर भित्र्याउन हतार नगर्न आग्रह गरे।
मौसमको अवस्था हेरी घाम लागेपछि राम्ररी सुकाएर मात्र भित्र्याउँदा धान सुरक्षित राख्न सकिने उनले बताए। चिसो र ओसिलो अवस्थामा धान भण्डारण गर्दा कुहिने, ढुसी लाग्ने र गुणस्तर ह्रास हुने जोखिम भएकाले भिजेको धानलाई बिस्कुन बनाएर राम्ररी सुकाउनुपर्ने उनको सुझाव छ।
असिनासहितको वर्षाले धानबालीका अतिरिक्त व्यावसायिक रूपमा लगाइएका काउली, बन्दा, गोलभेँडा तथा अन्य तरकारीबालीमा पनि सामान्य असर परेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण संकलन गरेपछि कृषि उपजमा भएको क्षतिको यकिन तथ्यांक सार्वजनिक गरिने कार्यालयले जनाएको छ।



