अर्थमन्त्री वाग्लेलाई हिस्टुन अध्यक्ष न्यौपानेको प्रश्न- अस्थायी प्रकृतिका शिक्षकलाई खोइ प्रोत्साहन भत्ता?

हिमाल प्रेस २६ कार्तिक २०८३ १६:३५ | Thursday, November 12, 2026
58
SHARES
अर्थमन्त्री वाग्लेलाई हिस्टुन अध्यक्ष न्यौपानेको प्रश्न- अस्थायी प्रकृतिका शिक्षकलाई खोइ प्रोत्साहन भत्ता?

काठमाडौँ- उच्च शिक्षा तथा विद्यालय शिक्षामा कार्यरत शिक्षकहरूको सेवा सुविधा र वृत्ति विकासमा विभेद भइरहेको भन्दै हिस्टुनका अध्यक्ष टीका न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका छन्।

उनले समान प्रकृतिको काम गर्ने शिक्षकबीच पारिश्रमिक, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षामा असमानता रहेको भन्दै सरकारले सबै शिक्षकलाई समान व्यवहार गर्नुपर्ने माग गरेका छन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले अर्थमन्त्रीले सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने अभिव्यक्ति दिए पनि लामो समयदेखि शिक्षण पेसामा आबद्ध शिक्षकहरू नै उक्त सुविधाबाट वञ्चित रहेको बताए।

‘अर्थमन्त्रीज्यू, अस्थायी प्रकृतिका शिक्षकलाई खोइ प्रोत्साहन भत्ता? सबै प्रकारका शिक्षक र कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि २०६० साल वा त्यसपछि नियुक्त भएका स्थायी शिक्षकले समेत यस्तो सुविधा पाएका छैनन्,’ उनले भने।

उनले शिक्षक नियुक्तिको प्रकृति र सेवाको अवस्थाका आधारमा सुविधा वितरण गर्दा शिक्षकहरूबीच विभेद बढेको बताए। विशेषगरी राहत तथा करारमा कार्यरत शिक्षक सामाजिक सुरक्षा र वृत्ति विकासका अवसरबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।

योग्यता र क्षमता हुँदाहुँदै पनि स्थायी नियुक्ति नभएकै कारण नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै न्यौपानेले यसले शिक्षकको व्यावसायिक विकासमा अवरोध पुर्‍याएको बताए।

शिक्षकहरूको साझा हकहितका लागि काम गर्नुपर्ने शिक्षक महासंघको भूमिकामाथि पनि उनले प्रश्न उठाए। महासंघको नेतृत्वले शिक्षकका समस्यालाई प्रभावकारी रूपमा उठाउन नसकेको र कतिपय विषयमा आन्तरिक सौदाबाजीका कारण शिक्षकका मुद्दा ओझेलमा परेको उनको आरोप छ।

‘शिक्षक महासंघको नेतृत्वले सबै शिक्षकको साझा समस्या समाधान गर्नुपर्ने हो। तर, आन्तरिक रूपमा गरिएका निर्णय र सौदाबाजीले सबै शिक्षकको हकहितलाई समेट्न सकेको छैन,’ उनले भने।

न्यौपानेले विद्यालयमा समान प्रकृतिको काम गर्ने शिक्षकबीच कार्यभार र सुविधासमेत समान नरहेको गुनासो गरे। कतिपय विद्यालयमा शिक्षकको योग्यता, क्षमता र अनुभवलाई बेवास्ता गर्दै पिरियड बाँडफाँट गर्ने गरिएको उनको भनाइ छ।

पीएचडी तथा पोस्टडक्टोरल तहसम्मको शैक्षिक योग्यता हासिल गरेका शिक्षकलाई समेत उनीहरूको दक्षताअनुसार जिम्मेवारी नदिने र कतिपयलाई अत्यधिक कार्यभार थोपर्ने गरिएको उनले बताए। यसले शिक्षकहरूमा शारीरिक तथा मानसिक दबाब सिर्जना गरेको उनको भनाइ छ।

सरकारले शिक्षकको नियुक्ति प्रकारका आधारमा विभेद नगरी समान कामको समान सुविधा, सामाजिक सुरक्षा, प्रोत्साहन भत्ता र वृत्ति विकासको अवसर सुनिश्चित गर्नुपर्ने माग गर्दै न्यौपानेले अर्थमन्त्री वाग्लेको यस विषयमा ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २६ कार्तिक २०८३ १६:३५ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast