भीमफेदी दुर्घटनामा रास्वपाद्वारा दुःख व्यक्त

हिमाल प्रेस २६ कार्तिक २०८३ १४:४१ | Thursday, November 12, 2026
भीमफेदी दुर्घटनामा रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौँ- मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रोबस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ स्थित सुन्दरपुर टोललाई शोकमा डुबाएको छ।

छठ पर्व मनाउन काठमाडौँमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्यहरू एउटै गाडी रिजर्भ गरेर घर फर्किने क्रममा भएको दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ।

दुर्घटनाको सबैभन्दा पीडादायी पक्ष एउटै टोलका पाँच परिवारसम्मले आफ्ना सदस्य गुमाउनुपरेको घटना भएको रास्वपाले जनाएको छ। चाडपर्व मनाउन घर फर्किरहेका आफन्तहरू गुमाउँदा सुन्दरपुरका परिवार र सिंगो समुदायले अपूरणीय क्षति व्यहोर्नुपरेको पार्टीको भनाइ छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

रास्वपाले घटनालाई दुर्घटनामा सीमित नगरी राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषयका रूपमा व्याख्या गरेको छ। सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्ने पार्टीको धारणा छ।

पार्टीले घाइतेहरूको प्रभावकारी तथा नि:शुल्क उपचार, मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण तथा पीडित परिवारलाई तत्काल राहत र मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, पीडित परिवारको अभिभावकत्व ग्रहण गर्दै राहत, सहयोग र आवश्यक सहजीकरणमा सरकारले संवेदनशील तथा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

दुर्घटनाबाट प्रभावित परिवार र सुन्दरपुरवासीलाई यस दुःखद घडीमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाले पीडितहरूको दुःखमा आफूहरू सहभागी रहेको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १४:४१ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast