छठमा रवि दम्पती जनकपुर आउने निश्चित, बालेनको छैन टुंगो

धैर्यकान्त दत्त २६ कार्तिक २०८३ १४:४३ | Thursday, November 12, 2026
छठमा रवि दम्पती जनकपुर आउने निश्चित, बालेनको छैन टुंगो

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम आउने निश्चित भएको छ। सभापति लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्वमा पूजाआजा गर्न जनकपुरधाम आउने लागेका हुन्।

गंगासागर छठ पूजा समितिका अध्यक्ष सतिशलाल दासले रास्वपा सभापति लामिछाने पत्नी निकितासहित छठ पर्व मनाउन जनकपुरधाम आउन लागेको जानकारी दिएका हुन्। दासका अनुसार छठ पूजा गर्न लामिछाने दम्पतीका लागि गगांसागरस्थित पूर्वतर्फको घाट छुट्याइएको छ।

‘रास्वपा सभापति रवि लामिछानेजी छठ पर्व मनाउन यहाँ आउने निश्चित भएको छ,’ अध्यक्ष दासले हिमालप्रेससँग भने, ‘उहाँहरूका लागि पूजा र अर्घ्य दिन सूर्य भगवान् मन्दिरअगाडिको घाट  छुट्याएका छौँ।’

छठको पूर्ण विधिअनुसार लामिछाने पत्नी निकिताले पूजाआजा गर्न आफूहरूलाई जानकारी प्राप्त भएको दासले बताए। उनका अनुसार मुख्य विधि खरना गरेर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य  दिएर छठ पूजा गर्ने तयारी छ।

छठमा पूजाआजा गर्न लामिछाने दम्पतीको शनिबार जनकपुर आउने कार्यक्रम छ। ‘शनिबार जनकपुर पुगेर रास्वपा नेताको घरमा खरना पूजा गरेर आइतबार र सोमबार घाटमा पुगेर उहाँहरूले छठ पूजा गर्ने जानकारी हामीले पाएका छौँ,’ अध्यक्ष दासले भने।

उनका अुनसार प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरू लामिछाने दम्पतीका लागि गंगासागरस्थित पूर्वतर्फको घाट उपयुक्त हुने निधो गरेका थिए।

रास्वपा सभापति लामिछानेकी पत्नीले छठ गर्ने भएपछि घाटमा भीडभाड हुन सक्ने भएकाले सुरक्षाको उपयुक्त व्यवस्था गर्नेगरी सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूले आफूहरूसँग छलफल गरेको दासले बताए। जनकपुरको गगांसागर पोखरीमा छठ पर्व गर्ने भाकल रहेकोले लामिछाने दम्पती यहाँ आउन लागेको उनले जानकारी दिए।

रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै यसपालि छठ पर्व गर्न जनकपुर आउने जानकारी गराएका थिए।

बालेनको छैन टुंगो

रास्वपा सभापति लामिछानेका साथै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि छठ पर्वमा पूजाआजा गर्न जनकपुरधाम आउने चर्चा रहेको छ। रास्वपाका स्थानीय नेताहरू पार्टी सभापति लामिछानेका साथै प्रधानमन्त्री शाह पनि छठमा जनकपुरधाम आउने बताएका छन्।

गंंगासार छठ पूजा समितिका अध्यक्ष दासले पनि छठको सन्ध्याकालीन अघ्र्य दिने प्रधानमन्त्री शाह जनकपुर आउने जानकारी आफूहरूले रास्वपा नेता कार्यकर्तामार्फत पाएको बताए। यद्यपि उनी छठ पर्वमा आउने भनेर टुंगो लागिनसकेको दासले जानकारी दिए।

जनकपुरधामको दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइने गरिन्छ। धनुषसागर, गंगासागर, अंगराजसर, रत्नसागर, अग्निकुण्डलगायतका पोखरीमा हुने छठ पर्व आकर्षणको केन्द्र बन्ने गरेका छन्।

आइतबार सन्ध्याकालीन र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइने छठ पर्वका लागि जनकपुरधामका पोखरीमा सरसफाइका साथै सजाउने काम तीव्र रूपमा भइरहेको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १४:४३ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast