ईसीडी कक्षा । तस्बिर एआई निर्मित ।
काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाका लागि नयाँ पाठ्यक्रम सार्वजनिक भएको छ। प्रारम्भिक बालविकास शिक्षकसहित विद्यालय सहयोगी कर्मचारी तथा विद्यालय सहायक कर्मचारी छनोटका लागि नयाँ पाठ्यक्रम, २०८३ सार्वजनिक गरेको हो।
पाठ्यक्रममा बालविकासको अवधारणा, बालमनोविज्ञान, शिक्षण विधि, पाठ्यक्रम तथा दैनिक कार्यतालिका, बालमैत्री वातावरण, स्वास्थ्य, पोषण, सुरक्षा र मूल्यांकनलगायत विषयलाई समेटिएको छ।
प्रारम्भिक बालविकास शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०८३ अनुसार लिखित परीक्षा वस्तुगत र विषयगत गरी दुई खण्डमा सञ्चालन हुनेछ। दुवै खण्डको पूर्णाङ्क ५०/५० गरी लिखित परीक्षाको कुल पूर्णाङ्क १०० निर्धारण गरिएको छ। यसका अतिरिक्त अन्तर्वार्ताका लागि २५ अंक छुट्याइएको छ।
सामाजिक सञ्जालमा प्युठानको माण्डवी गाउँपालिकाले पाठ्यक्रम तयार गरेको भनिएअनुसार परीक्षामा वस्तुगत परीक्षामा २५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्नको अंकभार दुई रहनेछ। यसका लागि ४५ मिनेट समय निर्धारण गरिएको छ भने उत्तीर्णाङ्क २५ रहेको छ। विषयगत परीक्षामा १० वटा छोटो उत्तर आउने प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्नको अंकभार पाँच रहनेछ। यसका लागि दुई घण्टा समय छुट्याइएको छ भने उत्तीर्णाङ्क २० कायम गरिएको छ।
वस्तुगत परीक्षामा गलत उत्तर दिएमा सम्बन्धित प्रश्नको अंकको २० प्रतिशत कट्टा हुने व्यवस्था गरिएको छ। वस्तुगत परीक्षामा उत्तीर्ण भएका उम्मेदवारले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउनेछन्। विषयगत परीक्षामा पनि उत्तीर्णाङ्क प्राप्त गर्ने उम्मेदवारको लिखित परीक्षाको नतिजा तयार गर्दा वस्तुगत परीक्षामा प्राप्त अंकको ५० प्रतिशतसमेत जोडिने पाठ्यक्रममा उल्लेख छ।
लिखित परीक्षाको माध्यम नेपाली वा अंग्रेजी दुवै भाषा हुन सक्ने व्यवस्था गरिएको छ। पाठ्यक्रममा समावेश विषयवस्तुमा सम्बन्धित कानुन, नियम तथा नीतिमा संशोधन भएमा वा नयाँ व्यवस्था थपिएमा परीक्षाको मितिभन्दा तीन महिनाअघिसम्म कायम रहेका व्यवस्थालाई आधार मानिने उल्लेख छ।
वस्तुगत परीक्षाको पाठ्यक्रममा प्रारम्भिक बालविकास शिक्षकको परिचय, नीति तथा कानुनी व्यवस्था, बालविकासको अवधारणा र महत्वलाई प्राथमिकतामा राखिएको छ। नेपालको संविधानका धारा ३१ र ३९, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा रहेका बालविकाससम्बन्धी व्यवस्थाबारे पनि प्रश्न सोधिनेछन्।
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम २०७७ (परिमार्जन २०८२) को परिचय, संरचना र वार्षिक कार्यान्वयनसम्बन्धी विषयसमेत वस्तुगत परीक्षामा समेटिएका छन्। त्यस्तै, बालबालिकाको सर्वाङ्गीण विकासका पक्षहरूलाई पनि पाठ्यक्रमले महत्व दिएको छ।
शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, नैतिक, बौद्धिक तथा मानसिक विकाससँगै स्वास्थ्य, पोषण, सुरक्षा र सिर्जनात्मक विकाससम्बन्धी विषयवस्तु समावेश छन्।
प्रारम्भिक बालविकास सहजकर्ताका तहगत सक्षमता र तिनको व्यावहारिक प्रयोग, आधारभूत तथा विषयगत सीपका क्षेत्र, पूर्वभाषिक तथा पूर्वगणितीय सीप, दृश्यकला, कार्यतरिका र सिर्जनशीलता विकासका विधिबारे पनि परीक्षा केन्द्रित हुनेछ।
स्थानीय विषयवस्तु, बालगीत, खेल तथा कथाको प्रयोग, बालमैत्री वातावरण निर्माण, प्रारम्भिक बालविकास केन्द्र तथा कक्षाकोठा व्यवस्थापन, बैठक व्यवस्थापन र सिकाइ कुनाको स्थापनासम्बन्धी विषय पनि पाठ्यक्रममा राखिएको छ।
बालबालिकाको स्वास्थ्य, पोषण, व्यक्तिगत सुरक्षा, ‘गुड टच’ र ‘ब्याड टच’, दुर्घटनाबाट बचावट तथा सरसफाइसम्बन्धी अभ्यासलाई समेत समेटिएको छ। समावेशी शिक्षाअन्तर्गत फरक क्षमता, भाषा तथा पृष्ठभूमि भएका बालबालिकाको सिकाइ सहजीकरण र विशेष आवश्यकता भएका बालबालिकाको व्यवस्थापनबारे पनि उम्मेदवारको ज्ञान परीक्षण गरिनेछ।
यसैगरी खेलमा आधारित, मनोरञ्जनात्मक र कार्यमूलक सिकाइ विधि, बालबालिकाको निरन्तर मूल्याङ्कन, पोर्टफोलियो निर्माण, अवलोकन फाराम र प्रगति विवरण तयार गर्ने सीपलाई पाठ्यक्रममा समावेश गरिएको छ। प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (अर्ली लर्निङ एन्ड डेभलपमेन्ट स्ट्यान्डर्ड-ईएलडीएस) को प्रयोग, अभिभावक शिक्षा, सामुदायिक सहभागिता र स्थानीय तहसँगको समन्वय पनि वस्तुगत परीक्षाका विषय हुन्।
विषयगत परीक्षाका लागि पाँचवटा मुख्य क्षेत्र निर्धारण गरिएको छ। प्रत्येक क्षेत्रबाट दुईवटा प्रश्न सोधिनेछन् र प्रत्येक प्रश्न पाँच अंकको हुनेछ।
पहिलो क्षेत्र बालमनोविज्ञान र समावेशी कक्षासँग सम्बन्धित छ । यसमा बालविकासको अवधारणा, महत्व र आवश्यकता, विशेषगरी प्रारम्भिक वर्ष अर्थात् शून्यदेखि आठ वर्षसम्मको विकास, बालमनोविज्ञानका आधारभूत सिद्धान्त, शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासका चरण समेटिएका छन्। बालअधिकार, बाल संरक्षण, समावेशी शिक्षा र विशेष आवश्यकता भएका बालबालिकाको व्यवस्थापन पनि यसै क्षेत्रअन्तर्गत पर्छन्।
दोस्रो क्षेत्र पाठ्यक्रम र दैनिक कार्यतालिकासँग सम्बन्धित छ । प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ (परिमार्जन २०८२) को ढाँचा र उद्देश्य, विकासका क्षेत्र तथा सीप, पूर्वगणित, पूर्वपठन र पूर्वलेखन सीपका साथै दैनिक कार्यतालिकाका चरणबारे प्रश्न सोधिनेछन्। स्वागत, सामूहिक समय, छवि कुना, बाहिरी खेल, खाजा समय र समीक्षा समयलगायत गतिविधि समेटिएको दैनिक कार्यतालिका तथा पाठयोजना निर्माण पनि यसमा समावेश छ।
तेस्रो क्षेत्र शिक्षण विधि र सिकाइ वातावरण हो। यसमा खेलमा आधारित स्वतन्त्र तथा निर्देशित खेल, कथा वाचन, गीत तथा कविता, नाटक र अभिनय (रोल प्ले), कठपुतली प्रविधि तथा बालमैत्री र सुरक्षित कक्षाकोठा व्यवस्थापनबारे प्रश्न रहनेछन्। भाषा, गणित, निर्माण तथा ब्लक, अभिनय, कला र प्रकृति तथा विज्ञानसम्बन्धी सिकाइ कुनाको व्यवस्थापनसमेत यसमा समेटिएको छ।
चौथो क्षेत्र सिकाइ सामग्री निर्माण र प्रयोगसँग सम्बन्धित छ। स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट निःशुल्क तथा न्यून लागतका शैक्षिक सामग्री सङ्कलन र निर्माण गर्ने तरिका, भित्री तथा बाहिरी खेल सामग्रीको प्रयोग र सुरक्षा मापदण्ड तथा श्रव्यदृश्य सामग्रीको उपयोग यसअन्तर्गत पर्छन्।
पाँचौँ क्षेत्र मूल्याङ्कन र अभिलेखीकरणसँग सम्बन्धित छ। निरन्तर अवलोकन र मूल्याङ्कन, पोर्टफोलियो, चेकलिस्ट, घटना वृत्त अभिलेख (एनेक्सडोटल रेकर्ड) जस्ता मूल्याङ्कनका साधन, बालबालिकाको व्यक्तिगत प्रगति प्रतिवेदन तयार गर्ने विधि र अभिभावक परामर्श यसमा समावेश छन्। बालपोषण, बालस्वास्थ्य, प्राथमिक उपचार, व्यक्तिगत सरसफाइ र अभिभावकसँगको सहकार्यसम्बन्धी विषय पनि यसै क्षेत्रमा राखिएको छ।
लिखित परीक्षापछि अन्तर्वार्ताका लागि २५ अंक निर्धारण गरिएको छ। पाठ्यक्रममा अन्तर्वार्ताका लागि १५ अंक, शैक्षिक योग्यताका लागि चार अंक र अनुभवका लागि बाँकी अंक छुट्याइएको छ।
शैक्षिक योग्यताअन्तर्गत सेवा प्रवेशका लागि तोकिएको योग्यतामा प्रथम श्रेणी प्राप्त गरे तीन र द्वितीय श्रेणी प्राप्त गरे दुई अंक प्रदान गरिने व्यवस्था छ। सोभन्दा माथिल्लो शैक्षिक योग्यतामा प्रथम श्रेणी प्राप्त गरे दुई र द्वितीय श्रेणी प्राप्त गरे एक अंक प्रदान गरिने उल्लेख छ।
प्रारम्भिक बालविकास शिक्षकका रूपमा काम गरेको अनुभवलाई पनि अंक प्रदान गरिनेछ। प्रत्येक वर्षको अनुभवबापत शून्य दशमलव पाँच अंकका दरले बढीमा पाँच अंक प्रदान गर्ने व्यवस्था पाठ्यक्रममा उल्लेख छ। अन्तर्वार्तामा कुनै उम्मेदवारलाई ६० प्रतिशतभन्दा बढी वा ३५ प्रतिशतभन्दा कम अंक दिनुपर्ने भए त्यसको स्पष्ट कारण खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ।



