तिहारको स्वादै महँगो

किरण पौडेल २३ कार्तिक २०८३ १०:०२ | Monday, November 9, 2026
तिहारको स्वादै महँगो भक्तपुरको सूर्यविनायकमा बिक्रीको लागि राखिएका भाइमसला। फाइल तस्बिर : रासस

काठमाडौँ- भाइटीकामा अनिवार्यजस्तै मानिने भाइमसलाको मूल्य अचाक्ली बढेपछि यस वर्ष तिहार महँगिएको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसलाका सामग्रीको मूल्य ह्वात्तै बढ्दा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको व्यवसायी बताउँछन्। विगतका वर्षमा पनि मूल्य बढ्ने गरे पनि यसपटक वृद्धिदर निकै उच्च छ।

तिहारमा झन्डै १२ प्रकारका खाद्य सामग्री मिसाएर भाइमसला तयार गर्ने प्रचलन छ। तीमध्ये केही सामग्री नेपालमै पाइन्छन् भने अधिकांश विदेशबाट आयात गर्नुपर्छ। यस वर्ष सबैजसो सामग्रीको मूल्य बढेको छ।

‘भाउ अत्यन्तै बढेकाले किन्नेको दर केही घटेको छ,’ नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ भन्छन्, ‘तिहारमा नभइनहुनेजस्तै बनेका यी सामग्री हामीले ल्याउनसमेत सकिरहेका छैनौँ।’

भाइमसलामा काजु, नरिवल, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल, अन्जिर र पेस्ताजस्ता सामग्री पर्छन्। यी सबैको मूल्य बढेको श्रेष्ठ बताउँछन्। ‘सबै सामग्री किन्नेलाई त झन् मूल्य चर्को पर्छ,’ उनी भन्छन्।

श्रेष्ठका अनुसार काजु प्रतिकिलो एक हजार ६ सयदेखि एक हजार आठ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। विगतका वर्षमा पनि महँगिने गरेको काजुको मूल्य यसपटक झन् बढेको छ। नरिवल नेपालमा चीनबाट आयात गर्नुपर्ने बाध्यता छ।

नेपालमै नरिवल उत्पादन हुने भए पनि तिहारका लागि विदेशबाटै ल्याउनुपर्ने अवस्था छ। ल्वाङको मूल्य साविककै रहे पनि छोकडाको मूल्य भने अचाक्ली बढेको छ। नरिवलको मूल्य पनि प्रतिकिलो झन्डै पाँच सय रुपैयाँ पुगेको छ।

‘गत वर्ष थोक मूल्य दुई सय ५० देखि तीन सय रुपैयाँ थियो। यसपटक अत्यन्तै बढ्यो,’ श्रेष्ठ भन्छन्।

उनका अनुसार विदेशबाट आयात गर्नुपर्ने छोकडा केही वर्षयता सरकारले प्रतिबन्ध लगाएको छ। ‘सरकारले छोकडामा रोक लगाएको छ तर गैरकानुनी तरिकाले भए पनि नेपालमा छोकडा भित्रिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘यसले गर्दा सरकारलाई राजस्वमा घाटा भइरहेको छ भने त्यसरी लुकाएर ल्याइएको छोकडा झन् महँगो छ।’

नेपालमै उत्पादन हुने ओखरसमेत यसपटक महँगिएको छ। किसमिस प्रतिकिलो पाँच सयदेखि ६ सय रुपैयाँ र बदाम करिब एक हजार आठ सय रुपैयाँ पुगेको छ। यसपटक सबैभन्दा महँगो पेस्ता बनेको छ। भाइमसलामा अनिवार्यजस्तै मानिने पेस्ता खुद्रा पसलमा प्रतिकिलो झन्डै चार हजार रुपैयाँमा बिक्री भइरहेको छ।

विदेशको भर पर्दा महँगो

भाइमसलाका अधिकांश सामग्री विदेशबाट आयात गर्नुपर्ने हुन्छ। नेपालमा उत्पादन नहुने वा पर्याप्त उत्पादन नहुने सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले तिहार महँगिएको व्यवसायी बताउँछन्।

एकदुई प्रकारका सामग्री मात्रै किन्दा पनि महँगो पर्ने यी वस्तु एकमुष्ट किन्दा उपभोक्ताको खर्च झन् बढ्छ।

नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्य यस वर्ष भाइमसलाको मूल्य औसतमा १० देखि १५ प्रतिशतसम्म बढेको बताउँछन्।

‘महँगो छ तर पनि सामान्य किनमेल भइरहेको छ। अत्यावश्यकजस्तै बनेका यी सामग्री महँगो मूल्यमा किनबेच भइरहेका छन्,’ बज्राचार्य भन्छन्।

व्यवसायीहरूका अनुसार नेपालमै उत्पादन गर्न सकिने सामग्रीसमेत विदेशबाट ल्याउनुपर्ने बाध्यताले तिहार महँगिएको हो। नरिवल, ओखर र बदामजस्ता सामग्री नेपालमा उत्पादन गर्न सकिन्छ। सरकारले खेतीलाई प्रोत्साहन नगर्दा र किसानले पनि व्यावसायिक खेतीमा चासो नदिँदा दैनिक उपभोगका सामग्रीसमेत तेस्रो मुलुकको भरमा आयात गर्नुपर्ने अवस्था छ।

‘हामीले नरिवलसमेत चीनबाट ल्याउनुपर्छ। चीनले नरिवलको आपूर्ति रोकेमा हाम्रो बजारमा अभाव हुन्छ,’ बज्राचार्य भन्छन्।

भाइमसलामा प्रयोग हुने मिश्री पनि नेपालमा पर्याप्त उत्पादन हुँदैन। उखुको मूल्य र उत्पादनका विषयमा वर्षैभरि विवाद भइरहे पनि मिश्री भने भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। व्यवसायीहरूका अनुसार चाडपर्वका बेला ठूलो परिमाणमा मिश्री आयात गर्नुपर्छ।

प्याकेजिङले झन् बढाउँछ मूल्य

भाइमसलाका सामग्री उपभोक्ताले एकैपटक ठूलो परिमाणमा किन्ने गर्दैनन्। सबै प्रकारका सामग्री थोरै–थोरै मात्रामा किन्ने भएकाले बजारमा प्याकेजिङ गरेर बिक्री गर्ने प्रचलन बढेको छ। तर, प्याकेजिङका कारण उपभोक्ताले थप मूल्य तिर्नुपर्ने अवस्था छ।

‘खुला सामान बिक्री गर्न पाइँदैन। प्याकेजिङ गर्नुपर्ने भएकाले मूल्य झन् बढ्ने गर्छ,’ अध्यक्ष बज्राचार्य भन्छन्, ‘प्याकेजिङका लागि अर्को कम्पनीलाई दिनुपर्छ। त्यसले पनि १० देखि १५ प्रतिशतसम्म आफ्नो मार्जिन राखेर मूल्य तोक्छ।’

उपभोक्ता संरक्षण ऐनअनुसार प्याकेजिङमै मूल्य विवरणदेखि म्याद सकिने मितिसम्म खुलाउनुपर्ने बाध्यता छ। यसले पनि सामग्रीको मूल्य बढाएको छ।

भन्सार विभागको तथ्यांकअनुसार असोजमा ९१ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको ५६ लाख ७२ हजार नौ सय २१ किलो काजु, बदाम, ओखर, नरिवललगायत आयात भएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १०:०२ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast