फाइल तस्बिर।
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट-आरूघाट-लार्के (रुहिला) सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्षसम्म पनि सडक निर्माण सम्पन्न हुन नसक्नु र क्षेत्रफलका हिसाबले देशकै चौथो तथा गण्डकी प्रदेशको सबैभन्दा ठूलो पालिका सडक सञ्जालमा जोडिन नसक्नु विडम्बनापूर्ण भएको बताएका हुन्।
आफू अर्थमन्त्री रहेका बेला आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत रातो किताबमा समावेश गरेर सडक निर्माण सुरु गरिएको उनले स्मरण गरेका छन्।
१५४ किलोमिटर लामो उक्त सडक ऐतिहासिक तथा रणनीतिक महत्त्वको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा उत्तरी गोरखाका स्थानीयले ठूलो सास्ती भोग्नुपरेको उनको भनाइ छ।
पछिल्लो समय बूढीगण्डकी क्षेत्रमा आएको बाढीले सडकको निर्माण भइसकेको खण्डसमेत क्षति पुर्याएपछि उक्त क्षेत्र थप विकट बनेको भट्टराईले उल्लेख गरेका छन्। उनका अनुसार मनाङ र मुस्ताङजत्तिकै ठूलो हिमाली क्षेत्र देशको अन्य भागसँगको सम्पर्कबाट लगभग विच्छेदजस्तै बनेको छ।
भट्टराईले भौगोलिक, जातीय, भाषिक तथा सांस्कृतिक हिसाबले गोरखाको अन्य क्षेत्रभन्दा फरक पहिचान बोकेको र मनास्लु संरक्षण क्षेत्रसमेत रहेको उत्तरी भूभागलाई नेपालको संविधानको धारा ५६ (५) अनुसार संघीय कानुन बनाएर स्वायत्त क्षेत्र कायम गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
उनले उत्तरी गोरखाको विशिष्ट पहिचान र आवश्यकतालाई सम्बोधन गर्दै बेनीघाट-आरूघाट-लार्के सडक निर्माणलाई प्राथमिकतामा राख्न वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन्।
भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।



