फाइल तस्बिर
काठमाडौँ- इजरायलमा नयाँ सरकार गठनलाई लिएर राजनीतिक कसरत तीव्र भएको छ। पूर्वसेना प्रमुख तथा विपक्षी दलका नेता गादी आइजेनकोटलाई अरब पार्टीहरुको समर्थन प्राप्त भएपछि सत्ताको समीकरण फेरिँदै गएको देखिन्छ।
पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार राष्ट्रपति इसाक हर्जोगसँग राजनीतिक दलहरुको परामर्शका क्रममा अरब दलहरुले आइजेनकोटलाई समर्थन दिने घोषणा गरे।
इजरायलको १२० सदस्यी संसदमा सरकार बनाउन ६१ सांसदको समर्थन आवश्यक पर्दछ। अरब दलहरुसँग १९ सिट छन्। उनीहरुको समर्थनपछि आइजेनकोटको पक्षमा ६७ सांसदको समर्थन हुने अनुमान छ। यो संख्या बहुमतका लागि चाहिनेभन्दा ६ बढी हो।
अर्कोतर्फ वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ठूलो धक्का लागेको छ। उनका पुराना सहयोगी ‘अति रुढिवादी’ पार्टी युनाइटेड टोरा जुडिज्म (यूटीजे) को एउटा गुटले उनलाई समर्थन दिन अस्वीकार गरेको छ।
‘खराब र अति खराबमध्ये एकको छनोट’
सन् १९९६ मा स्थापना भएको राम पार्टीका नेता मन्सुर अब्बासले आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरे। उनको पार्टीसँग आठ सिट छ। यस क्रममा अब्बासले दुई राज्य समाधान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनाका लागि आफ्नो समर्थन दोहोर्याए। उनले हमाससहित सबै सैन्य र सशस्त्र संगठनहरुलाई निःशस्त्रीकरण गर्न माग गरे।
११ सिट भएको अर्को प्रमुख अरब राजनीतिक समूह ‘ज्वाइन्ट लिस्ट’ ले आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टीले यो निर्णयलाई नेतन्याहू सरकारलाई सत्ताबाट हटाउनका लागि ‘खराब र अति खराब विकल्प’ बीचको छनोट बताएको छ।
ज्वाइन्ट लिस्टका अध्यक्ष युसुफ जबारिनले उनीहरुको प्रतिनिधिमण्डलको निर्णयले अरब मतदाताहरुको परिवर्तनको मागलाई प्रस्तुत गर्ने बताए।
उनले वर्तमान सरकारको कार्यकालमा ‘अरब नागरिकले नस्लवाद, विभेद, अपराध र राजनीतिक सामाजिक बहिष्कार जस्ता समस्याको सामना गर्नुपरेको’ आरोप लगाए।
नेतान्याहूका पुराना सहयोगीले पनि बनाएर दूरी
प्रधानमन्त्री नेतन्याहूको खेमासँग ५३ सिट छ। तर, उनलाई सबै ५३ सांसदको समर्थन प्राप्त हुने सम्भावना अत्यन्तै कम छ।
यूटीजेको सात सिटमध्ये चार सिट रहेको गुट डेगेल हातोराले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेको छ। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार अति रुढिवादी नेताहरुले नेतान्याहूसँग दूरी बनाएका छन्।
यसको कारण उनको सरकारले हरेदी समुदायका पुरुषहरुलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने कानुन पारित गराउन नसक्नु रहेको बताइएको छ।
नेतन्याहूको लिकुड पार्टीले अरब पार्टीहरुले चुनावमा विदेशी समर्थन लिएर धाँधली गरेको आरोप निरन्तर लगाउँदै आएका छन्। यद्यपि उनले आरोप पुष्टि हुने ठोस प्रमाण पेस गरेका छैनन्।
गादी आइजेनकोट को हुन्?
आइजेनकोटको जन्म इजरायलको तिबेरियास सहरमा भएको थियो। यदि उनी प्रधानमन्त्री बने भने उनी इजरायलको पहिलो मिजराही प्रधानमन्त्री हुनेछन्। मिजराही यहुदीहरुको सम्बन्ध मध्य पूर्व र उत्तरी अफ्रिकासँग छ। इजरायलको करिब आधा जनसंख्या यही समुदायबाट आउँछ।
आइजेनकोटले सन् १९७८ मा अनिवार्य सैन्य सेवाका क्रममा इजरायल डिफेन्स फोर्सेजको गोलानी बिग्रेडमा सामेल भई आफ्नो सैन्य जीवनको सुरुवात गरेका थिए।
उनी सन् १९९७ मा यी बिग्रेडको कमाण्डर बने। त्यसपछि सेनामा महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै उनी सनु २०१५ मा आईडीएफको चीफ अफ जनरल स्टाफ नियुक्त भए।
सेनाबाट अवकाश पाएपछि आइजेनकोटले राजनीनिमा कदम राखे र इजरायली संसदको सदस्य बने। ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि उनले नेतान्याहूको वार क्याबिनेटमा पनि ठाउँ पाएका थिए।
डिसेम्बर २०२३ मा गाजामा लडाइँका क्रममा उनका छोरा ग्यालको मृत्यु भयो। त्यसपछि उनले युद्धमै आफ्ना दुई भतिजाहरु पनि गुमाए।
आइजेनकोटले सेप्टेम्बर २०२५ मा आफ्नो मध्यमार्गी पार्टी याशर गठन गरे। हिब्रू भाषामा याशरको अर्थ ‘सिधा वा इमानदार’ हुन्छ।
उनले प्रधानमन्त्री बनेमा १८ महिनाभित्र हमासको सैन्य विङ र त्यसको नेतृत्वलाई समाप्त पार्ने संकल्प लिएका छन्।



