यी हुन् अमेरिकी राष्ट्रपतिका सम्भावित उम्मेदवार

हिमाल प्रेस २० कार्तिक २०८३ १४:३० | Friday, November 6, 2026
यी हुन् अमेरिकी राष्ट्रपतिका सम्भावित उम्मेदवार

अमेरिकी मध्यावधि निर्वाचनको परिणामबाट डेमोक्र्याटहरू अझै उत्साहित छन् तर अमेरिकी राजनीतिक वृत्तले भने अर्को निर्वाचनको तयारी थालिसकेको छ। त्यो हो- सन् २०२८ मा हुने ह्वाइट हाउसको दौड।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संविधानले तेस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न रोक लगाएको छ। त्यसैले दुवै प्रमुख राजनीतिक दल रिपब्लिकन र डेमोक्र्याटसले राष्ट्रपतिको उम्मेदवार खोज्नुपर्नेछ।

ह्वाइट हाउसका लागि सफल भएका कतिपय चुनावी अभियान मध्यावधि निर्वाचनलगत्तै सुरु भएका उदाहरण छन्। ट्रम्पको सन् २०२४ को विजयी अभियान सन् २०२२ को नोभेम्बरमा मार-ए-लागोबाट सुरु भएको थियो। त्यस्तै बाराक ओबामाको सन् २००८ को चुनावी अभियान सन् २००७ को फेब्रुअरीमा सुरु भएको थियो।

यसको अर्थ अबका केही साताभित्रै सम्भावित उम्मेदवारहरूले चन्दा संकलन गर्ने दाताहरूसँग सम्पर्क बढाउने, प्रारम्भिक निर्वाचन हुने राज्यहरूको भ्रमण गर्ने र आफ्नो उम्मेदवारीको सम्भाव्यताबारे मत सर्वेक्षक तथा चुनावी रणनीतिकारहरूसँग परामर्श गर्न थाल्नेछन्।

डेमोक्र्याटिक पार्टीमा उम्मेदवार बन्ने दौड खुला छ। सन् २०२४ को निर्वाचनमा राष्ट्रपति जो बाइडेनले मतदान हुनुभन्दा चार महिनाअघि मात्रै उम्मेदवारी फिर्ता लिँदा पार्टीले व्यहोरेको निराशाजनक परिणामलाई यसपटकको मध्यावधि निर्वाचनको सानदार सफलताले बिर्साउन सक्ने डेमोक्र्याटहरूको आशा छ।

रिपब्लिकन पार्टीमा भने सम्भावित राष्ट्रपतीय उम्मेदवारसामु एउटा प्रश्न छ- मध्यावधि निर्वाचनको निराशाजनक परिणामपछि ट्रम्पबाट दूरी बनाउने कि उनको साथमै रहने? ट्रम्पको सम्भावित समर्थनले पार्टीको उम्मेदवारी जित्न सहज हुने आकलन उनीहरूले गर्न सक्छन्।

रिपब्लिकन पार्टी

जेडी भान्स : राष्ट्रपति ट्रम्पका उत्तराधिकारीका रूपमा सबैभन्दा बढी चर्चामा रहेका उपराष्ट्रपति जेडी भान्स।

राष्ट्रपति ट्रम्पको उत्तराधिकारी बन्ने सम्भावित उम्मेदवारमध्ये उपराष्ट्रपति जेडी भान्स सबैभन्दा अगाडि छन्। ४२ वर्षीय भान्स रिपब्लिकन पार्टीको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियानभित्रको लोकप्रियतावादी तथा विदेशमा सैन्य हस्तक्षेप नगर्ने पक्षधर समूहबाट प्रतिनिधित्व गर्छन्। यस समूहमा युवा रूढिवादीहरूको आकर्षण छ। प्रविधि क्षेत्रका प्रभावशाली लगानीकर्तासहित अन्य धेरै दाताको समर्थन पनि उनलाई प्राप्त छ।

प्रारम्भिक निर्वाचनका मतदातामाझ ट्रम्प प्रशासनको इरानसँग युद्ध गर्ने निर्णय र महँगी नियन्त्रण गर्न असफल भएको विषयले भान्सको छविमा असर पार्न सक्छ। मध्यावधि निर्वाचनको भोलिपल्टै उनले निर्वाचनमा पार्टीले व्यहोरेको हारको दोष युद्धलाई दिएका थिए। उनले एक्समा लेखेका थिए, ‘कसैले यो युद्ध उचित थियो र यसका कारण आगामी ६ वर्षका लागि सिनेट गुमाउनु पनि उचित थियो भन्न चाहन्छ भने त्यसो गरोस्।’

भान्सको चुनावी अभियान सञ्चालन गर्ने शैली पनि त्यति सहज मानिँदैन। सन् २०२४ को निर्वाचनका क्रममा डोनट पसलका कर्मचारीसँग भएको उनको असहज संवाद सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उपराष्ट्रपतिबाट राष्ट्रपतिमा निर्वाचित हुन विगतमा निकै कम व्यक्ति सफल भएका छन् भन्ने तथ्यबारे पनि उनी जानकार छन्। पछिल्लो १९० वर्षमा उपराष्ट्रपति रहेका व्यक्तिमध्ये जर्ज एचडब्ल्यू बुस मात्रै राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका छन्।

यद्यपि सन् २०२८ को निर्वाचनमा भान्सलाई स्वाभाविक अग्रता प्राप्त हुनेछ। चुनावी चन्दा संकलन गर्ने क्षमता र आम मतदातामाझ रहेको परिचित छविका कारण उनलाई अन्य प्रतिस्पर्धीले उछिन्न कठिन हुन सक्छ।

मार्को रुबियो : परराष्ट्रमन्त्री मार्को रुबियो ट्रम्पनिकट र परम्परागत रिपब्लिकन दुवै पक्षका लागि स्वीकार्य विकल्प मानिन्छन्।

राष्ट्रपतीय उम्मेदवारीका लागि भान्सको सबैभन्दा सम्भावित र लोकप्रिय विकल्प मार्को रुबियो हुन्। ट्रम्पप्रतिको निष्ठाका कारण उनी मागा समर्थकमाझ लोकप्रिय छन्। तर उपराष्ट्रपति भान्सको तुलनामा उनी परम्परागत रिपब्लिकन मूल्य र मान्यतासँग नजिक देखिन्छन्। यसले उनलाई उमेरले पाका रूढिवादी मतदाता र पार्टीका संस्थापन पक्षका दातामाझ बढी स्वीकार्य बनाउन सक्छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा ट्रम्पले प्रतिस्पर्धी रुबियोलाई पटकपटक ‘लिटिल मार्को’ भन्दै व्यङ्ग्य गरेका थिए। तर दोस्रो कार्यकालमा ट्रम्पले उनलाई निकै विश्वास गरेका छन्। उनले रुबियोलाई परराष्ट्रमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएका छन्। ट्रम्प प्रशासनका महत्त्वपूर्ण विदेश नीतिसम्बन्धी निर्णयमा पनि रुबियोको भूमिका छ।

भान्सजस्तै अलोकप्रिय प्रशासनको हिस्सा हुनु रुबियोका लागि पनि प्रतिकूल हुन सक्छ। तर उम्मेदवारीको तयारी गर्न उनले आफ्नो सरकारी पदबाट राजीनामा दिन सक्ने सुविधा छ।

डोनाल्ड ट्रम्प जुनियर : ट्रम्पले मागा अभियानको नेतृत्व आफ्नै परिवारभित्र सीमित राख्न चाहे भने उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर सम्भावित उत्तराधिकारी हुन सक्छन्।

४८ वर्षीय ट्रम्प जुनियरले बुबाको दोस्रो कार्यकालमा मुख्यतः विश्वका विभिन्न मुलुकमा पुगेर व्यावसायिक अवसरको खोजी गरिरहेका छन्। यद्यपि सन् २०२४ को निर्वाचन अभियानमा उनी आफ्ना अन्य दाजुभाइ तथा दिदीबहिनीको तुलनामा बढी सक्रिय थिए। विभिन्न व्यावसायिक गतिविधिका कारण उनले सम्भावित चुनावी दाताहरूसँग पनि राम्रो सम्बन्ध बनाएका छन्। पछिल्ला मत सर्वेक्षणमा उनी रुबियोपछि तेस्रो स्थानमा छन्।

ट्रम्प जुनियरलाई आफ्नो नाम चिनाउन भने समस्या हुने छैन। तर उनीसँग बुबाको जस्तो राजनीतिक आकर्षण र प्रभाव छैन। अमेरिकी राजनीतिमा बुस र केनेडी परिवारजस्ता राजनीतिक वंशको प्रभाव देखिए पनि ट्रम्पप्रतिको जनसमर्थन घट्दै गएको अवस्थामा उनकै परिवारबाट निरन्तरता दिन खोजिएको मागा अभियान मतदातालाई स्वीकार्य नहुन सक्छ।

रोन डेसान्टिस :  फ्लोरिडाका गभर्नर रोन डेसान्टिस सन् २०२४ को प्रारम्भिक निर्वाचनमा ट्रम्पविरोधी रिपब्लिकनहरूको सबैभन्दा ठूलो आशाका उम्मेदवार थिए। उनको दोस्रो कार्यकाल समाप्त हुन लागेकाले उनी सन् २०२८ को निर्वाचनमा अप्रत्याशित रूपमा बलियो प्रतिस्पर्धी बन्न सक्ने आकलन गरिएको छ। रिपब्लिकन मतदाताले ट्रम्प र मागा अभियानबाट दूरी बनाउँदै परम्परागत रूढिवादी राजनीतितर्फ फर्कने निर्णय गरे भने डेसान्टिसलाई त्यसको लाभ मिल्न सक्छ।

मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा एक रेडियो अन्तरवार्ताका क्रममा उनले राजनीतिक भ्रष्टाचार नियन्त्रण गर्न ट्रम्प प्रशासनले पर्याप्त काम नगरेको भन्दै आलोचना गरेका थिए।

दुई वर्षअघि फ्लोरिडामा आफ्नो लोकप्रियता र सफलतालाई राष्ट्रिय स्तरको समर्थनमा रूपान्तरण गर्न उनी असफल भएका थिए। सन् २०२८ मा पनि यही कमजोरी उनका लागि चुनौती बन्न सक्छ।

टेड क्रुज :  टेक्सासका सिनेटर टेड क्रुजलाई सर्वोच्च अदालतमा रिक्त हुने सम्भावित न्यायाधीश पदका लागि ट्रम्पले पटकपटक सम्भावित उम्मेदवारका रूपमा चर्चा गरेका छन्। तर ५५ वर्षीय क्रुजले सन् २०१६ मा ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गर्न नसकेपछि सन् २०२४ मा उनलाई चुनौती दिएका थिएनन्। अब उनी पुनः ह्वाइट हाउसको दौडमा सहभागी हुन सक्छन्।

रुबियोको तुलनामा क्रुजले ट्रम्पसँग केही दूरी कायम राखेका छन्। त्यसैले सन् २०२७ मा राष्ट्रपतिको लोकप्रियता थप खस्किएमा प्रशासनको आलोचना गर्न उनलाई सहज हुन सक्छ।

मागा अभियानको समयमा हुर्किएको रिपब्लिकन मतदाताको नयाँ पुस्तामाझ उनी भान्सजति लोकप्रिय छैनन्। यसले उनको राष्ट्रिय स्तरको प्रभाव विस्तारमा कठिनाइ ल्याउन सक्छ।

रक्षामन्त्री हेगसेथले आफ्ना निकटस्थहरूलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा विचार गरिरहेको बताएका छन् तर सरकारी पदमा रहँदा विवादास्पद बनेको उनको कार्यकालले उम्मेदवारीको सम्भावना कमजोर बनाउन सक्छ। यस्तै  स्वास्थ्य तथा मानवसेवामन्त्री रोबर्ट एफ केनेडी जुनियर  रिपब्लिकन पार्टीको ‘माहा’ (मेक अमेरिका हेल्दी अगेन) समूहका प्रमुख हुन्। यद्यपि भान्सको तुलनामा उनको राष्ट्रिय राजनीतिक प्रभाव कम छ।

डेमोक्र्याटिक पार्टी

ग्याभिन न्युसम : क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षभरि आफूलाई राष्ट्रपतिको प्रमुख डेमोक्र्याटिक प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई व्यङ्ग्य गर्ने र उनका निर्णयको निरन्तर आलोचना गर्ने गरेका छन्।

राष्ट्रपति बन्ने आफ्नो महत्त्वाकांक्षा उनले लुकाएका छैनन्। मध्यावधि निर्वाचनपछि राष्ट्रपतीय उम्मेदवारीको तयारी गर्ने सम्भावित नेतामध्ये उनी सुरुमै सक्रिय हुन सक्छन्। गत साता राति प्रसारण हुने हास्य कार्यक्रमका सञ्चालक जिम्मी किमेलसँगको अन्तरवार्तामा उनले अमेरिकाभर डेमोक्र्याटहरूका पक्षमा ठूलो जनलहर आउने भविष्यवाणी गरेका थिए। उनको भविष्यवाणीअनुसार निर्वाचनमा डेमोक्र्याटहरूले सफलता हासिल गरे।

५९ वर्षीय न्युसम पछिल्ला महिनामा सन् २०२८ को निर्वाचनका निर्विवाद अग्रणी उम्मेदवारका रूपमा स्थापित हुन सकेका छैनन्। सन् २०२४ मा कमला ह्यारिसलाई अप्ठ्यारो पारेको तटीय क्षेत्रका उदारवादी नेताको छवि डेमोक्र्याटहरूले रुचाउन छाडेको संकेत पनि यसले गर्छ।

जोन ओसोफ : यस वर्षको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीका सबैभन्दा प्रभावकारी नेतामध्ये एक जर्जियाका सिनेटर जोन ओसोफ हुन्। उनले प्रतिस्पर्धात्मक राज्य जर्जियाबाट सहजै पुनः निर्वाचन जितेका छन्।

चुनावी अभियानका क्रममा उनले ओबामाको शैलीमा भाषण गर्दै ट्रम्पले सत्तामा रहेर व्यक्तिगत सम्पत्ति बढाएको, महँगी नियन्त्रण गर्न नसकेको र इरान युद्धमा गल्ती गरेको भन्दै आलोचना गरेका थिए। राष्ट्रपति ट्रम्पका निकट सहयोगी नताली हार्पमाथि गरेको व्यङ्ग्यात्मक टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त टिप्पणीले ह्वाइट हाउसलाई समेत असन्तुष्ट बनाएको थियो।

ओसोफले आफूलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न ‘कुनै रुचि नभएको’ बताउँदै आएका छन्। तर सन् २०२८ मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना सबैभन्दा बढी उनकै रहेको मत बाजी लगाउनेहरूको आकलन छ।

कमला ह्यारिस : दुई वर्षअघि ट्रम्पसँग पराजित भए पनि पूर्वउपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीभित्र उल्लेख्य समर्थन प्राप्त छ। विभिन्न मत सर्वेक्षणले पनि पार्टीभित्र उनको समर्थन कायमै रहेको देखाएका छन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि हतारमा तयार पारिएको चुनावी अभियानका कारण उनको उम्मेदवारी कमजोर बनेको थियो।

तर पुनः उम्मेदवारी दिएमा उनले पहिलेका जस्तै चुनौती सामना गर्नुपर्नेछ। आर्थिक तथा विदेश नीतिसम्बन्धी उनका धारणा मतदातामाझ प्रभावकारी हुन सकेका थिएनन्। त्यस्तै, बाइडेन प्रशासनको कार्यकालका उपलब्धि र कमजोरीको प्रतिरक्षा गर्न पनि उनलाई कठिन भएको थियो।

यसअघि सन् २०२० मा पनि उनको चुनावी अभियान प्रारम्भिक निर्वाचन सुरु हुनुअघि नै कमजोर बनेको थियो।

अलेक्जान्ड्रिया ओकासियो कोर्टेज :  ‘एओसी’ नामले परिचित अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज सन् २०१८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएदेखि नै डेमोक्र्याटिक पार्टीको प्रगतिशील धारमा उदाउँदो नेतृका रूपमा स्थापित छिन्। प्रारम्भिक निर्वाचनमा उनी बर्नी स्यान्डर्सपछि पार्टीको प्रगतिशील धारको नेतृत्व गर्ने सम्भावित नेतृ हुन्।

न्युयोर्ककी उनले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने संकेत दिइसकेकी छन्। उनले मिशिगनका अब्दुल एल-सयदसहित प्रगतिशील उम्मेदवारहरूको पक्षमा सक्रिय चुनावी अभियान चलाएकी छन्। आफ्नो राजनीतिक समर्थन विस्तार गर्न उनले केही पुराना धारणासमेत परिमार्जन गरेकी छन्।

तर उनीसँग पर्याप्त समय छ। ३७ वर्षीया ओकासियो-कोर्टेज अमेरिकी इतिहासमा सबैभन्दा कम उमेरमा निर्वाचित राष्ट्रपति बनेका जोन एफ केनेडीभन्दा पनि छ वर्ष कान्छी छन्। केनेडी ४३ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका थिए।

उनका लागि अर्को विकल्प न्युयोर्कबाट सिनेटर बन्ने पनि हुन सक्छ। माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीका ७५ वर्षीय नेता चक सुमरले सन् २०२८ मा पद छाडेमा उनले उक्त अवसर पाउन सक्छिन्।

जोस सापिरो : अमेरिकाका सबैभन्दा लोकप्रिय डेमोक्र्याटिक गभर्नरमध्ये एक जोस सापिरोले यसै साता महत्त्वपूर्ण प्रतिस्पर्धात्मक राज्य पेन्सिलभेनियाबाट सहजै पुनः निर्वाचन जितेका छन्।

उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरे भने डेमोक्र्याटिक पार्टीको मध्यमार्गी धारको प्रतिनिधित्व गर्नेछन्। आर्थिक नीति, नियमनसम्बन्धी विषय र विदेश नीतिमा उनी पार्टीका प्रगतिशील नेताहरूसँग मतभेदमा पर्न सक्छन्। विशेषगरी इजरायलप्रतिको उनको समर्थनका कारण विदेश नीतिमा प्रगतिशील मतदातासँग उनको टकराव हुन सक्ने देखिन्छ। फाइनान्सियल टाइम्सबाट

प्रकाशित: २० कार्तिक २०८३ १४:३० | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast