नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणा।फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ ले बिहीबार बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको बताउँदै उक्त चेतावनी दिएका हुन्।
राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। सरकारले सभापति थापामाथि कुनै पनि प्रतिशोधपूर्ण कदम चाले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिँदै उनले पार्टीका नेताकार्यकर्तालाई एकजुट भएर उभिन आह्वान गरे।
‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’
गैरकानुनी पक्राउ गर्न नमानेपछि आईजीपी हटाइयो
महामन्त्री राणाले सरकारले गैरकानुनी रूपमा मानिसहरूलाई पक्राउ गर्न दबाब दिएको र त्यसो गर्न नमान्दा दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएको आरोप लगाए।
आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ।
सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनको भनाइ छ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बन्दै गएको बताए।
पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने धारणा राखे।
सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए।
न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्तिहरू प्रयोग गरेर प्रभाव पार्न खोजिरहेको आरोप राणाले लगाए। राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनको भनाइ छ।
प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजिरहेको आरोप लगाउँदै राणाले त्यसको प्रतिरोधका लागि सबै सचेत नागरिक सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।
देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्नेमा उनले बताए।



