बालेनको भारत भ्रमणको बाटो खोल्दै भारतीय विदेश सचिव मिस्री

हिमाल प्रेस १८ कार्तिक २०८३ १३:१३ | Wednesday, November 4, 2026
12
SHARES
बालेनको भारत भ्रमणको बाटो खोल्दै भारतीय विदेश सचिव मिस्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रस्तावित भारत भ्रमणको तयारी र पछिल्लो समय केही चिसिएको नेपाल-भारत कूटनीतिक सम्बन्धलाई पुनः गतिशील बनाउने उद्देश्यसहित भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौँ ओर्लेर भेटघाटमा जुटेका छन्।

दुईदिने भ्रमणका क्रममा उनले नेपाली उच्च अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम अनुरुप उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवर्ता गरेका छन्। परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट भएको छ।

उनको भ्रमणलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको कार्यसूची तयार पार्ने र द्विपक्षीय सम्बन्धका प्राथमिकता तय गर्ने महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरे। परराष्ट्र मन्त्री खनालले भारत जाँदा पनि यही कुरा बताउँदै आएका थिए।

भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको थियो।

मिस्रीको भ्रमणको प्रमुख उद्देश्य भने प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको कार्यसूची र त्यसबाट हासिल गर्न सकिने उपलब्धिबारे सहमति जुटाउनु हो। उनले बिहीबार प्रधानमन्त्री बालेनसँग भेट गर्ने कार्यक्रम छ। उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने तयारीसमेत रहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई यसअघि नोभेम्बरको तेस्रो साताका लागि सम्भावित रूपमा हेरिएको थियो। तर भ्रमणको औपचारिक मिति र कार्यसूची भने सार्वजनिक भइसकेको छैन। तर उनी मंसिर ७ मा भारत जाने तयारी रहेको बताइएको छ। मिस्रीको भ्रमणले त्यसलाई अन्तिम रूप दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीले राईसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा हुनेछ।

नेपालले भारतसँग प्रस्ताव गरेको आर्थिक सहयोग प्याकेज, भारतीय सहयोगमा सञ्चालित विकास आयोजना, नयाँ सहकार्यका क्षेत्र तथा प्रधानमन्त्रीको भ्रमणका क्रममा उठाइने विषयहरू वार्ताका प्रमुख एजेन्डा हुनेछन्।

यस क्रममा ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, सडक तथा रेल सञ्जाल, हवाई सम्पर्क र व्यापार सहजीकरणजस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

भारतसँगको आर्थिक तथा विकास साझेदारीलाई नयाँ आधारमा अघि बढाउने नेपालको चाहना र त्यसमा भारतको प्राथमिकताबीच सहमति खोज्ने प्रयाससमेत हुनेछ।

नेपाल-भारत सम्बन्धमा पछिल्लो समय देखिएका असमझदारीका विषय पनि यस भ्रमणको पृष्ठभूमिमा छन्। विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद तथा कैलाश मानसरोवर यात्राका लागि लिपुलेक नाका प्रयोग गर्ने भारतीय योजनाप्रति नेपालले जनाएको आपत्तिले दुई देशबीच कूटनीतिक असहजता सिर्जना गरेको थियो।

प्रधानमन्त्री बालेनले सीमा विवाद समाधानमा चीन र बेलायतको भूमिकासमेत उल्लेख गरेपछि भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको थियो। मिस्रीको भ्रमणले यी संवेदनशील विषयमा तत्काल समाधान निकाल्नेभन्दा पनि संवादको वातावरण सहज बनाउने र उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि आधार तयार गर्नेछ।

त्यस्तै, भारतीय सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयनमा देखिएका ढिलाइ, व्यापार तथा पारवहनका समस्या, जलविद्युत् निर्यात, सीमा पूर्वाधार र दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषय पनि छलफलमा आउन सक्नेछन्।

भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेक प्राथमिकता नीतिको महत्त्वपूर्ण हिस्साका रूपमा लिँदै आएको छ। नेपालका लागि पनि भारत प्रमुख व्यापारिक साझेदार, पारवहन मार्ग र ऊर्जा बजार हो। त्यसैले राजनीतिक सम्बन्धमा देखिने उतारचढावभन्दा आर्थिक तथा विकास साझेदारीलाई स्थिर र परिणाममुखी बनाउनु दुवै देशको हितमा छ।

मिस्रीको यो भ्रमण गत मे महिनाका लागि तय भएर पनि स्थगित भएको भ्रमणको निरन्तरता हो। त्यसबेला प्रधानमन्त्री बालेनसँग भेटघाटको समय र कूटनीतिक प्रोटोकललगायतका विषयमा असमझदारी भएकाले स्थागित भएको थियो। त्यसपछि दुई देशबीच उच्चस्तरीय राजनीतिक संवादलाई पुनः सक्रिय बनाउने प्रयास अनुरुप अहिले भारतबाट नेपाल तर्फ भ्रमण भएको हो। भारतीय विदेश सचिवको भ्रमण र त्यसपछि हुने प्रधानमन्त्रीस्तरीय संवादले नेपाल-भारत सम्बन्धलाई कुन दिशामा लैजान्छ भन्ने चासो बढेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १३:१३ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast