सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा भएका निर्णयहरू प्रस्तुत गर्दै नेका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे। तस्बिर:रासस
काठमाडौँ- नेपाली कांग्रेसले मुलुकमा पछिल्लो समय उठेका गम्भीर र संवेदनशील विषयमा छलफल गर्न तत्काल संघीय संसद्को बैठक बोलाउन माग गरेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायालय, प्रेस, प्रहरी, बिचौलियासँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनको सचिवालयसँग जोडिएका विषयमा संसद्भित्रै छलफल र छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा विभिन्न निकायको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा संसद्लाई चाँडो बोलाएर समस्याको निकास खोज्नुपर्ने बताए।
उनले न्यायालयबाट हुने न्याय निष्पक्ष र पारदर्शी छ कि छैन भन्ने विषयमा समेत आशंका उत्पन्न भइरहेको भन्दै यस्ता विषयको समाधान संसद्बाटै खोजिनुपर्ने धारणा राखे।
‘बिचौलियासँग सम्बन्धित धेरै कुरा आएका छन्। न्यायालय, प्रेस र प्रहरीसँग जोडिएका संवेदनशील विषय उठेका छन्। कार्यकारी प्रमुख प्रधानमन्त्री र उहाँको सचिवालयसँग सम्बन्धित विषय पनि छन्,’ उनले भने, ‘यी विषयमा बाहिर सतहमा चर्चा गर्नुभन्दा संस्थागत रूपमा संसद्बाटै खोजी, निगरानी र चासो व्यक्त हुनुपर्छ।’
नेता आङ्देम्बेले हरेक विषय अध्यादेशमार्फत अघि बढाउने प्रवृत्तिले संसद्को अपरिहार्यता र गरिमामाथि नै प्रश्न उठ्न सक्ने बताए। त्यसैले संसद्को बैठक तत्काल बोलाएर महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ।
कांग्रेसले यसअघि विभिन्न घटनाको छानबिनका लागि गठन भएका समितिहरूको कामकारबाहीबारे समेत प्रश्न उठाएको छ। सुनछहरी र कप्तानगन्जका घटनालगायतका विषयमा गठन गरिएका समितिहरूले के काम गरिरहेका छन् भन्नेबारे जानकारी हुनुपर्ने आङ्देम्बेले बताए।
त्यस्तै रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट विस्थापित भएका नागरिकले अझै राहत तथा घरभाडा पाउन नसकेको विषयलाई पनि कांग्रेसले बैठकमा उठाएको छ। बढ्दो महँगीलगायत जनताले तत्काल राहत पाउनुपर्ने विषयमा समेत संसद्मा छलफल आवश्यक रहेको उनले बताए।
उनले संसद् बैठक बोलाउने विषयमा सभामुखसँग छलफल गर्ने जानकारी दिँदै संवेदनशील विषयमा संसद्भित्रै व्यापक बहस र छलफल हुनुपर्नेमा जोड दिए।
सत्तापक्षसँगको भेटघाट र सहकार्यका विषयमा भने आगामी दिनमा उनीहरूको प्रस्तुतिले तय गर्ने आङ्देम्बेको भनाइ छ। सत्तापक्षले प्रतिपक्षसँग कस्तो व्यवहार गर्छ र उठेका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने आधारमा संवाद अघि बढ्ने उनले बताए।
महाभियोगको विषयमा पनि सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने कांग्रेसको भनाइ छ। सत्तारूढ दलभित्रै यस विषयमा एकमत भइनसकेको देखिएको भन्दै आङ्देम्बेले पहिले उनीहरूको आधिकारिक धारणा आउनुपर्ने बताए।
‘सत्तापक्ष कसरी प्रस्तुत हुन्छ, विषयलाई कसरी उठाउँछ र पार्टीको धारणा संसद्मा कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण छ,’ उनले भने।
उनले महाभियोगलगायतका विषयमा प्रतिपक्षी दलका नेताहरूबीच पनि छलफल गरेर साझा धारणा बनाइने बताए। राम्रो कामका लागि कांग्रेस विगतमा पनि साथमा रहेको र आगामी दिनमा पनि साथ दिने उनको भनाइ थियो।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका प्रतिपक्षी दलका नेताहरू सहभागी भई मुलुकको पछिल्लो अवस्था, जनताले तत्काल पाउनुपर्ने राहत तथा विभिन्न संवेदनशील विषयमा छलफल गरेका थिए।



