लगातार दोस्रो दिन घट्यो नेप्से, ७ अर्ब १८ करोडको कारोबार

हिमाल प्रेस १६ कार्तिक २०८३ १७:४७ | Monday, November 2, 2026
8
SHARES
लगातार दोस्रो दिन घट्यो नेप्से, ७ अर्ब १८ करोडको कारोबार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३२.६५ अंक अर्थात् १.२१ प्रतिशतले घटेर २,६५७.५० विन्दुमा बन्द भएको छ। बजारमा बिक्री चाप बढेपछि नेप्से परिसूचकमा गिरावट आएको हो।

यसअघि शुक्रबार परिसूचकले लगातार तीन दिनको वृद्धिको क्रमलाई तोड्दै गिरावट बेहोरेको थियो।

सोमबार बिहान कारोबार सुरु भएको केही समयमै परिसूचक ऋणात्मक क्षेत्रमा प्रवेश गरेको थियो। बीचमा केही समय सुधारको प्रयास भए पनि कारोबार अवधिभर परिसूचक नकारात्मक नै रह्यो।

बजारको समग्र अवस्था पनि कमजोर देखियो। सोमबार २५२ कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको मूल्य बढेको थियो भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

सोमबार कुल ७ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस क्रममा ७० हजार २२८ वटा कारोबारमार्फत १ करोड ९८ लाख २० हजार कित्ता सेयर किनबेच भएका थिए।

कम्पनीतर्फ बेनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १३.५८ प्रतिशतले बढेको थियो। त्यसैगरी मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ८.७७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ५.४७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको थियो।

अर्कोतर्फ, सानिमा लार्ज क्याप फन्डको सेयर मूल्य सबैभन्दा धेरै ४.८६ प्रतिशतले घटेको थियो। झापा इनर्जी लिमिटेडको ४.११ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ४.०८ प्रतिशतले सेयर मूल्य घटेको थियो।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको थियो। कम्पनीको ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

त्यसैगरी ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख ५० हजार रुपैयाँ र कुमारी बैंकको २७ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

लक्ष्मी सनराइज बैंकको २३ करोड ४८ लाख ८० हजार रुपैयाँ र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सोमबार कारोबार भएका सबै समूहगत उपसूचकहरू घटेर बन्द भएका छन्। विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको थियो। त्यसैगरी निर्जीवन बिमा समूहको १.७२ प्रतिशत र अन्य समूहको उपसूचक १.६१ प्रतिशतले घटेको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १७:४७ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast