काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबार स्थगन हुन पुगेको घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारका सुझावसहितको प्रतिवेदन एक साताभित्र पेस गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।
सेबोनले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि असोज ५ गते धितोपत्र कारोबार स्थगन गरिएको जानकारी प्राप्त भएको जनाएको छ।
बोर्डले कारोबार रोक्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा आवश्यक अध्ययन गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसमेत समेटिएको प्रतिवेदन असोज १२ भित्र बुझाउन नेप्सेलाई निर्देशन दिएको छ।
यससँगै, नेप्सेबाट जानकारी प्राप्त हुनासाथ बोर्डले प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार स्थगनको कारण पत्ता लगाउन उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइसकेको जनाएको छ।
बोर्डले उक्त टोलीले पेस गर्ने सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन थप आवश्यक काम अघि बढाइने जनाएको छ।


