जाडो बढेपछि पूर्वी तराईमा भक्काको व्यापार फस्टायो

हिमाल प्रेस १५ कार्तिक २०८३ १६:२४ | Sunday, November 1, 2026
12
SHARES
जाडो बढेपछि पूर्वी तराईमा भक्काको व्यापार फस्टायो भक्का बनाउँदै महिला। फाइल तस्बिर।

झापा- चिसो मौसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ।

राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ। यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ।

मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहेकी छन्।

‘हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु’, उनले भनिन्, ‘घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ।’

हरेक बिहान ५:०० बजेतिर उनी भक्का बनाउने भाडाकुडा, चुल्हो, दाउराको बिटो र सालको पातको पोको लिएर घरबाट बजारसम्म धाउँछिन्।

उनले सालको हरियो पातमा दिने तातो भक्का चखिलो अचारसँग चोभेर खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन्। चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ।

उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन। चिया र अचारसँग यो परिकार खाने चलन छ।  मेचीनगर-१० की अम्ला राजवंशीले पनि विगत डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आएकी छन्।

उनले दैनिक १५ किलोसम्म चामलको पीठोको भक्का बिक्री गर्ने गरेको बताइन्। प्रातकालीन पदयात्रामा हिँड्ने मानिस नै उनको पसलमा भक्का खाने नियमित ग्राहक हुन्।

बालबालिका र वृद्धवृद्धासमेत भक्का खान पसलमा झुम्मिने गरेको उनले बताइन्। ‘बिहानको चारपाँच घण्टा त हो नि भक्का बेच्ने, दिउँसो अरु काम धन्धामा लाग्न समय मिलिहाल्छ’, उनले भनिन्,‘महिनामा रु ५० देखि रु ७५ हजारसम्मको भक्का बिक्री हुन्छ।यसबाट आधाभन्दा बढी नाफा भइहाल्छ।’

जाडोयाममा माग बढ्ने हुँदा कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको व्यापार फस्टाउने गरेको स्थानीय व्यापारी बताउँछन्। झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बिक्री गर्ने पसलको सङ्ख्या धेरै देखिने गरेको छ।

भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ। नयाँ पुस्ता भने भक्काको व्यापारमा आकर्षित देखिएका छैनन्।

‘झापाको गल्ली र चोकमा जाडो सिजनमा जताततै भक्का खान पाइदोरहेछ’, मेची बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गरेकी तेह्रथुमको फेदाप-१ की १९ वर्षीया रमिला लिम्बूले भनिन्,‘भद्रपुरमा हामी हरेक बिहान क्याम्पस जानुअघि चियासँगै भक्काको खाजा खाने गर्छौँ। बिरे नुन मिसाएको टमाटर र खुर्सानीको अचारसँग भक्का चोभेर खाँदा गज्जबको स्वाद मिल्छ।’

विद्यालय र क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीहरुमा भक्का बेच्न राखिएका फुटपाथ पसलमा झुम्मिने गरेको पाइन्छ। पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान नै बनिसकेको भक्काको रैथाने स्वादलाई प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १६:२४ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast