एनपीएल

५ ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको जित

हिमाल प्रेस १५ कार्तिक २०८३ ०:०१ | Sunday, November 1, 2026
8
SHARES
५ ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको जित

काठमाडौँ- सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराउँदै तेस्रो खेलमा आएर पहिलो जित हात पारेको हो।

विराटनगर पहिलो खेलमा चितवनसँग चितवनसँग ८ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो।

सुदूरपश्चिमले भने दोस्रो हार बेहोरेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

विराटनगरले दिएको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि सैफ जैव १० बलमा २ छक्का सहयोगमा १७ रन बनाउँदा रुपेश सिंहको बलमा क्याच आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा क्याच आउट भए। ओपनर शेरफाने रदरफोर्ड पहिलो बलमा नै आन्द्रे रसेलको बलमा शून्यमा नै बोल्डआउट भए। आरिफ शेख १७ र स्कट कुग्लेजिन २८ रनमा अविजित रहे।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर सेहान जयासूर्या र लोकेश बमले २.३ ओभरमा ६८ रनको साझेदारी गर्दै आक्रामक सुरुवात गरेका थिए।

११ बलमा २ चौका र ५ छक्का सहयोगमा ३९ रन बनाएका सेहान अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। उनले पहिलो ओभरमा नै ३५ रन हान्दै विराटनगरलाई उत्कृष्ट सृुरुवात दिलाएका थिए। १० बलमा १ चौका र ३ छक्का हानेका लोकेश २५ रन बनाउँदा अविनासको बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए।

आन्द्रे रसेल २९ रनमा अविजित रहे। उनले १० बलमा २ चौका र २ छक्का हाने।

सुदूरपश्चिमका अविनासको नाममा दुई विकेट रह्यो। वर्षाका कारण खेल प्रभावित हुँदा १५ ओभर घटाएर ५-५ ओभरमा छोट्टाइएको थियो। त्यसअघि साँझ ७:२५ मा टसको समय तोकिए पनि सुदूरपश्चिमका कप्तान ऐरीले टसका लागि गएका थिएनन्। त्यसपछि खेल ९:२० बजे मात्र सुरु भएको थियो।

शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा चितवन राइनोज र लुम्बिनी लायन्सले १-१ अंक बाँडे।

एनपीएलमा आइतबार एक खेल मात्र हुनेछ। जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १५ कार्तिक २०८३ ०:०१ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast