फिल्म चर्चा

‘छ माया छपक्कै २’ : कम्युनिस्ट आडम्बर र डेमोक्रेट फ्रिडमको फ्युजन!

चिरञ्जीवी मास्के १४ कार्तिक २०८३ २०:३५ | Saturday, October 31, 2026
34
SHARES
‘छ माया छपक्कै २’ : कम्युनिस्ट आडम्बर र डेमोक्रेट फ्रिडमको फ्युजन!

फूलपातीको दिन चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा दीपक (पटकथा लेखक दीपकराज गिरी)- दीपा (दीपाश्री निरौला)- दीपेन्द्र (कथाकार- निर्देशक दीपेन्द्र लामा) को ‘छ माया छपक्कै-२’ हेर्दा मलाई ४० को दशकमा मामाको कोठामा परिवार र छिमेकीसँग बसेर महाभारत हेरेको समय याद आयो। किनभने पटकथा लेखक दीपकराज गिरी र कथाकार- निर्देशक दीपेन्द्र लामाले ‘छ माया छपक्कै-२’ को कथा वस्तुलाई महाभारतको सिरियलबाटै तन्काएका रहेछन्।

‘छ माया छपक्कै- २’ को कथासार राजनीतिक महाभारतले निम्ताउने पारिवारिक तथा सामाजिक घट्ना-दुर्घटनाको तीतो यथार्थभित्र रुमलिएको छ। दोस्रो साता पार गर्नै लाग्दा फिल्मको आम्दानी खासै बढ्न सकेको देखिँदैन तर निर्माता-पटकथा लेखक दीपकले भनेझैँ दर्शकको मुहारमा र स्वयं निर्माता- निर्देशक- कलाकारको मुहारमा फिल्मले मुस्काननै दिएको छ। दीपक-दीपाको हरेक फिल्म सुपर हिट जाने गरेकोमा ‘छ माया छपक्कै-२’ को भविष्यलाई लिएर धेरैले चिन्ता गरेका छन्।

मचाहिँ यति भन्छु- फिल्म, व्यावसायिक रूपमा उत्कृष्ट नभए पनि विषयवस्तुमा उत्कृष्ट छ। तर दीपक-दीपाको निर्माण तथा दीपेन्द्र लामाको कथा- निर्देशनमा बनेको फिल्म अझ उत्कृष्ट हुनुपर्ने थियो कि! दर्शकलाई यस्तै लागेको हुनुपर्छ। अथवा दीपक-दीपा भएको फिल्ममा भरपूर कमेडियन हुन्छ भन्ने अपेक्षा दर्शकको थियो र त्यो नभएपछि दर्शकमा थोरै खिन्नता आएको हो कि!

जे होस, गम्भीर विषयमा कलाकारको उत्कृष्ट अभिनय र भरपूर मनोरञ्जन पस्कन सकेको ‘छ माया छपक्कै- २’ ले दर्शकको अपार माया भने पाएकै हो। राजनीतिक महाभारतमा कसरी परिवारमा विखण्डन सुरु हुन्छ, जातीयताको नारालाई कसरी उपयोग- दुरुपोग गरिन्छ, सामाजिक आडम्बर र वश-परम्परा अघि बढाउने नाममा प्रेमको हत्या कसरी हुन्छ जस्ता विषयवस्तुलाई कथाकार- निर्देशक दीपेन्द्र र पटकथा लेखक दीपकले निक्कै मेहेनत गरेर प्रस्तुत गरेका छन्।

झण्डै तीन घण्टाको फिल्ममा दीपक-दीपेन्द्रले धेरै कुरा दिन खोजेका छन् । धेरै अटाउँदा विषयको गहनतालाई कसिलो बनाउन चाहिँ नसकिएको हो कि! त्यसैले यो फिल्म अझै उत्कृष्ट बन्न नसकेको हो कि? दर्शकको शंका यहीँनेर देखिएको हो। तर पटकथा लेखक दीपक र निर्देशक दीपेन्द्रले ‘छ माया छपक्कै- २’ मा कम्युनिस्ट आडम्बर र डेमोक्रेट फ्रिडमको प्रभाव भने सटीक ढंगले प्रस्तुत गर्न सकेका छन्।

कम्युनिस्ट पार्टीका महासचिव (कुमार गुरुङ) को छोटो समयको प्रगति र स्थानीय तहमा पार्टीका पक्षमा संघर्ष गरिरहने इमानदार कार्यकर्ता (प्रकाश घिमिरे) को दुर्गतिले समाजवाद- साम्यवादका लक्ष्यलाई कसरी पूरा गरिरहेको छ भन्ने चित्र देखिन्छ, ‘छ माया छपक्कै-२’ मा। राजनीति र प्रेमको चपेटामा परेका राजा (दीपक ) को क्रान्तिकारिता आमा (रमा थपलिया) को धार्मिक मान्यता र श्रीमती (केकी अधिकारी) को विदेश मोहबाट कुन हदसम्म प्रताडित बन्यो भन्ने हिसाबकिताब ‘छ माया छपक्कै-२’ भित्र अटाउन सकेको छ।

राजनीतिक अवसानपछि पठाओको आम्दानीले सुखद भविष्य खोज्दै गरेका राजालाई प्रेमको तरंगले पुनः राजनीतिको कठबासमा बजारी दिएको कथा निक्कै रोचक छ। मुलुकको आर्थिक दुरवस्थाले युवाहरूमा विदेश मोह देखिएको तथ्यलाई ‘छ माया छपक्कै-२’ को कथामा सपक्कै मिलाइएको देखिन्छ। अनि डेमोक्रेट फ्रिडमले निम्ताउने समस्या निराकरणको लागि एउटा परिवारले कुन हदसम्मको हर्कत गर्नुपर्छ भन्ने सत्य पनि छ फिल्ममा।

राजनीतिमा दलित समुदायलाई उपयोग गर्न जातीय विभेदको विरोध गर्ने डेमोक्रेट नेता (निर्मल शर्मा) ले आफ्नो छोरा (रिहान गिरी) को प्रेमिका दलित युवती (सनिशा भट्टराई) भएकै कारण घर भित्र्याउन अस्वीकार गरेको विषय नेपाली समाजमा जातीय विभेद उपयोगवादको नारामात्र हो भन्ने संकेत मान्न सकिन्छ। जातीय विभेदका लागि सामाजिक रूपमा अझै धेरै उल्झन हटाउनुपर्छ भन्ने सन्देश ‘छ माया छपक्कै-२’ ले दिएको छ।

कम्युनिस्ट पार्टी सिद्धान्तले हैन व्यवहारले पूर्ण हुन्छ भन्ने मान्यतालाई अघि सारिएको कथावस्तु रहेको ‘छ माया छपक्कै-२’ ले नेपालको राजनीतिक परिवेशमा कम्युनिस्ट पार्टीहरुको भूमिकाले जनताको जीवनस्तरमा सुधार ल्याएको छ त ? भन्ने गम्भीर प्रश्न पनि उठाएको छ। चप्पल लगाएर राजधानी छिरेका कम्युनिस्ट नेताहरु हातमा महँग घडी, सुकिला-मुकिला पहिरन, चिल्ला गाडीसहित गाउँ फर्कँदा पृष्ठभूमिमा यथास्थितिका जनताको कारुणिक दैनिकीलाई फराकिलोसँग स्वीकार गरेको छ, ‘छ माया छपक्कै- २’ ले ।

अर्को दसैँमा ‘छ माया छपक्कै-३’ ल्याउने घोषणा गरेका दीपक-दीपाले मेयरको तयारी गरिरहेका राजालाई जनपक्षीय राजनीतिक कार्यक्रम कार्यान्वयन गर्ने नेताका रूपमा उभ्याउने अपेक्षा दर्शकको छ। तर यो विषय ‘छ माया छपक्कै-३’ को कथाकार-निर्देशक को बन्ने भन्ने कुराले पनि निर्धारण गर्ला। कथाकार- निर्देशकका रूपमा दीपेन्द्र नै दोहोरिए भने ‘छ माया छपक्कै-३’ ले पक्कै पनि राजनीतिक विकृतिलाई निमिट्यान्न पार्ने सूत्र दिनेछ।

फिल्ममा कलाकाहरुको अभिनयको कुनै टीका-टिप्पणी नै हुँदैन। किनभने सबैको भूमिका एक-से-एक छ। माताका रुपमा प्रवेश गरेकी दीपाको छोटो भूमिका जति प्रभावकारी छ, त्यति नै सन्देशमूलक पनि छ। धार्मिक अन्धविश्वास समस्याको समाधान होइन भन्ने सन्देश दिन पटकथा लेखक दीपक र निर्देशक दीपेन्द्रले सटीक परिवेश फिट गरिदिएका छन् – ‘छ माया छपक्कै-२’ मा।

दीपक र केकीले विगतको अभिनय जादुलाई लयमै राखेका छन्। नयाँ कलाकार भएर पनि सनिशा भट्टराई र रिहान गिरीको अभिनय उत्कृष्ट छ। रवीन्द्र झा, कर्मा शाक्य, जितु नेपाल, मेक्सम गौडेललगायतको अभिनय तारिफयोग्य छ। पछिल्लो समय हास्यव्यंग्य क्षेत्रमा राम्रै स्थान बनाउँदै गएका मेक्समलाई चाहिँ अन्याय भएको हो कि? उनको भूमिका अझ फराकिलो बनेको भए कथाको न्याय दर्शकको मायामा रमाउने थियो कि? अथावा दर्शकको चाहनाअनुसार दीपक-दीपाको फिल्ममा कमेडीको मात्रा भरपूर बनाउन मेक्सम मुख्य हुने थिए कि!

फिल्ममा दीपक र निर्देशक दीपेन्द्रले जसरी राम्रा-राम्रा बिम्बको प्रयोग गरेका छन् त्यसले फिल्मको तौलमात्र बढाएको छैन, एउटा कलाकार, एउटा पत्रकार राम्रो लेखक-साहित्यकार पनि हुनसक्छ भन्ने बलियो प्रमाण उभ्याएको पनि छ। फिल्मको कथावस्तु राजनीति, परिवार, प्रेम, विभेदजस्ता विविध विषयमा गोलमटोल नबनेको भए- कथाको दौड एउटा विषयको मार्गमा मात्र अघि बढेको भए अझ उत्कृष्ट बन्ने होडमा ‘छ माया छपक्कै-२’ पहिलो बन्ने थियो।

फिल्मको प्राविधिक पक्ष पनि केही कमजोर हो कि? प्रविधिमा हामीले छिमेकी भारतको बलिउड फिल्म उद्योगलाई किन पछ्याउन सकिरहेका छैनौँ होला भन्ने प्रश्न पनि उठ्छ। जे होस् महाभारत कथाको प्रभावमा जन्मिएको ‘छ माया छपक्कै-२’ ले ४० को दशकको मेरो महाभारत संस्मरणसंग राजनीतिक वेगमा चेतनाको शून्यता र युवा मनको अवमूल्यन भएको कुरालाई राम्रै इंगित गर्न सकेको छ।

अहिलेसम्म पनि राम्रै प्रदर्शन भए पनि अघिल्ला फिल्म जस्तो कमाइ भने भएको छैन नै। तर राम्रै प्रदर्शनमा रहेकाले कतै न कतैबाट अब्बल चलचित्रको सूचीमा दरिएकोले नै त प्रदर्शन हुन सकेको ‘छ माया छपक्कै-२’ ले दीपक-दीपाको हरेक फिल्म हिट हुने परम्परागत तथ्यलाई निरन्तरता दिन सकोस् शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast