तस्बिर : एएफपी/रासस
नोभेम्बर ३ मा अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा मतदान गर्दै छन्। यस निर्वाचनको परिणामले राष्ट्रपतिको पदावधि वा राष्ट्रपति को हुने भन्ने निर्णय गर्दैन तर अमेरिकी नागरिकले राजधानी वासिङ्टनस्थित संसद्मा कस्ता प्रतिनिधि चाहन्छन् भन्ने कुराको संकेत भने अवश्य दिनेछ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनजस्तै मध्यावधि निर्वाचन पनि प्रत्येक चार वर्षमा हुन्छ। राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक मध्यमा हुने भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। यस निर्वाचनमार्फत अमेरिकी मतदाताले कंग्रेस भनिने संघीय संसद्का दुवै सदनका प्रतिनिधि चयन गर्छन्। यसबाहेक केही राज्यमा गभर्नर पनि निर्वाचित हुन्छन्। मतदाताले यी पदका लागि प्रतिनिधि चयन गरे पनि उनीहरूको मनमा निर्वाचनसँग जोडिएका अन्य महत्त्वपूर्ण मुद्दासमेत हुन्छन्।
भर्जिनिया विश्वविद्यालयको सेन्टर फर पोलिटिक्सका निर्वाचन विश्लेषक जे मिलेस कोलम्यानका अनुसार मध्यावधि निर्वाचनलाई प्रायः राष्ट्रपति र सत्तारूढ दलप्रतिको जनमतसङ्ग्रहका रूपमा हेरिन्छ। जनतामा सरकारप्रति सन्तुष्टि भए राष्ट्रपतिले राम्रो चुनावी परिणाम प्राप्त गर्न सक्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता अहिलेसम्मकै न्यून विन्दुमा पुगेको देखिन्छ।
मध्यावधि निर्वाचनमा अमेरिकीले के चयन गर्छन्?
अमेरिकी संसद्को तल्लो सदनलाई प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) भनिन्छ। दुई वर्षको कार्यकाल हुने यस सदनका सबै ४३५ सिटका लागि निर्वाचन हुँदै छ। प्रत्येक सदस्यले एउटा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन्। निर्वाचन क्षेत्रको सङ्ख्या राज्यको जनसङ्ख्याका आधारमा निर्धारण गरिन्छ।
यसै कारण ठूलो भूभाग भए पनि कम जनसङ्ख्या भएको वायोमिङ राज्यले प्रतिनिधिसभामा एउटा मात्र सिट पाएको छ। अर्कोतर्फ क्षेत्रफलका हिसाबले सानो भए पनि न्यु जर्सी राज्यका १२ जना प्रतिनिधि छन्।
अर्कोतर्फ अमेरिकी संसद्को माथिल्लो सदन सिनेट छ। सिनेटरहरूको कार्यकाल छ वर्षको हुन्छ। सिनेटमा कुल एक सय सिट छन्। अमेरिकाका ५० वटै राज्यबाट दुई-दुई जना सिनेटर निर्वाचित हुन्छन्। यसमा राज्यको जनसङ्ख्याले कुनै भूमिका खेल्दैन।
सामान्यतया प्रत्येक दुई वर्षमा सिनेटका एकतिहाइ सिटका लागि निर्वाचन हुन्छ। सन् २०२६ को मध्यावधि निर्वाचनमा सिनेटका ३५ सिटका लागि मतदान हुँदै छ। त्यसैले यसपटक सबै राज्यमा सिनेटको निर्वाचन हुनेछैन।
यसका अतिरिक्त ३६ राज्यमा मतदाताले गभर्नर पनि चयन गर्नेछन्। अधिकांश राज्यमा गभर्नरको कार्यकाल चार वर्षको हुन्छ। अमेरिकी संवैधानिक व्यवस्थाअनुसार गर्भपतनसम्बन्धी कानुन, शिक्षा र निर्वाचन प्रक्रियाजस्ता महत्त्वपूर्ण विषयमा राज्यहरूले आफ्नै कानुन बनाउन सक्छन्। त्यसैले कुनै राज्यमा डेमोक्रेटिक वा रिपब्लिकन पार्टीको सरकार बन्नुले त्यहाँका नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।
अमेरिकी संसद्मा अहिले कसको बहुमत छ?
अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको संसद्का दुवै सदनमा बहुमत छ। तर दुवै सदनमा उसको अग्रता निकै साँघुरो छ।
प्रतिनिधिसभामा रिपब्लिकन पार्टीका २१८ र डेमोक्रेटिक पार्टीका २१४ सदस्य छन्। एक जना स्वतन्त्र सांसदले सामान्यतया रिपब्लिकनको पक्षमा मतदान गर्दै आएका छन् भने दुई सिट रिक्त छन्।
निर्वाचन विश्लेषकहरूले यसपटक प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्न सक्ने अनुमान गरेका छन्। अक्टोबरको अन्त्यमा अमेरिकी टेलिभिजन च्यानल सीबीएससँग कुरा गर्दै कोलम्यानले भनेका थिए, ‘डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गर्न सकेनन् भने त्यो आश्चर्यजनक हुनेछ।’
माथिल्लो सदन सिनेटमा अहिले रिपब्लिकनका ५३ र डेमोक्रेटिक पार्टीका ४५ सांसद छन्। दुई जना स्वतन्त्र सिनेटरले अहिलेसम्म डेमोक्रेटिक पार्टीकै पक्षमा मतदान गर्दै आएका छन्।
सिनेटमा मत बराबर अर्थात् ५०-५० भयो भने अमेरिकी उपराष्ट्रपतिको मत निर्णायक हुन्छ। यस्तो अवस्थामा उपराष्ट्रपति जेडी भान्सको भूमिका महत्त्वपूर्ण हुनेछ।
राष्ट्रपतीय निर्वाचनको तुलनामा अमेरिकामा मध्यावधि निर्वाचनमा मतदान गर्नेको प्रतिशत कम हुन्छ तर यसको परिणामले आगामी केही वर्षको अमेरिकी राजनीतिलाई प्रभावित गर्छ। राष्ट्रपतिसँग व्यापक विशेषाधिकार भए पनि संघीय तहका अधिकांश नीति तथा कार्यक्रम संसद्को स्वीकृतिपछि मात्रै कार्यान्वयनमा आउँछन्।
अहिलेसम्म संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेकाले ट्रम्पलाई सरकार सञ्चालन गर्न सहज भएको छ तर डेमोक्रेटिक पार्टीले दुवै सदन वा कुनै एक सदनमा मात्रै भए पनि बहुमत हासिल गरे ट्रम्पलाई घरेलु तथा विदेश नीतिका विषयमा आफूअनुकूल निर्णय गर्न कठिन हुनेछ।
मध्यावधि निर्वाचनमा के-के दाउमा छन्?
प्रतिनिधिसभामा बहुमत हासिल गर्न विपक्षी डेमोक्रेटिक पार्टीले रिपब्लिकनभन्दा चार सिट बढी जित्नुपर्नेछ। त्यसो भए प्रतिनिधिसभामा उसको सिट सङ्ख्या २१८ पुग्नेछ।
४३५ सिटमध्ये केही निर्वाचन क्षेत्रमा मात्रै अत्यन्त प्रतिस्पर्धात्मक भिडन्त हुने अनुमान छ। आयोवा, भर्जिनिया र मोन्टाना त्यस्ता राज्यमा पर्छन्।
अर्कोतर्फ टेक्सस राज्यको सिनेट निर्वाचन पनि निकै रोचक बनेको छ। पछिल्ला सर्वेक्षणअनुसार त्यहाँ डेमोक्रेटिक नेता जेम्स टालारिको र उनका रिपब्लिकन प्रतिस्पर्धी केन प्याक्सटनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
सिनेटमा पनि बहुमत हासिल गर्न डेमोक्रेटिक पार्टीले रिपब्लिकनको तुलनामा चार सिट बढी जित्नुपर्नेछ। टेक्सस त्यसमध्ये एउटा हुन सक्छ। सन् १९९४ यता टेक्ससबाट कुनै पनि डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन्।
यसपटक टेक्ससका डेमोक्रेटिक उम्मेदवार टालारिकोलाई प्रभावशाली रिपब्लिकन बुस परिवारको समर्थन प्राप्त भएको छ। अमेरिकाका दुई पूर्वराष्ट्रपति जर्ज एचडब्ल्यू बुस र उनका छोरा जर्ज डब्ल्यू बुस यही परिवारका हुन्।
गभर्नर निर्वाचन पनि यसपटक उत्तिकै रोचक हुने देखिएको छ। अमेरिकाले यस निर्वाचनबाट पहिलोपटक अश्वेत महिलालाई गभर्नरका रूपमा निर्वाचित गर्न सक्ने सम्भावना छ।
मिनेसोटा राज्यमा डेमोक्रेटिक नेता एमी क्लोबुचर र अश्वेत रिपब्लिकन उम्मेदवार लिसा डेमथबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै जर्जिया राज्यमा अश्वेत डेमोक्रेटिक उम्मेदवार किशा लान्स बटम र रिपब्लिकन नेता रिक ज्याक्सनबीच प्रतिस्पर्धा हुनेछ।
मिनेसोटामा डेमथको जित कठिन देखिएको छ। क्लोबुचर त्यहाँ विगत दुई दशकदेखि सिनेटर रहँदै आएकी छन्। त्यसैले मतदातामाझ उनको परिचय र प्रभाव डेमथको तुलनामा बढी छ।
जर्जियामा भने प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। पछिल्ला सर्वेक्षणअनुसार बटमसँग इतिहास रच्ने राम्रो अवसर छ। उनी निर्वाचित भए अमेरिकामा अश्वेत महिला गभर्नर बन्ने नयाँ इतिहास कायम हुनेछ। एएफपी



