पत्रकार पक्राउ कानुनको शासनको नाममा कानुनको उल्लंघन हो : एमाले

हिमाल प्रेस १३ कार्तिक २०८३ २०:५९ | Friday, October 30, 2026
10
SHARES
पत्रकार पक्राउ कानुनको शासनको नाममा कानुनको उल्लंघन हो : एमाले

काठमाडौँ– प्रतिष्ठित सञ्चार गृहभित्र छिरेर प्रहरीले पत्रकार पक्राउ गरेको कार्यलाई प्रतिपक्षी दल नेकपा एमालेले अत्यन्तै निन्दनीय र लोकतान्त्रिक मान्यताविपरीत भएको बताएको छ।

नेकपा एमालेले सञ्चारकर्मीहरूमाथिको धरपकड निन्दनीय कार्य भएको बताएको छ ।

शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको र लिने प्रयास गरेको सन्दर्भमा एमालेले यस्तो जनाएको हो ।

“सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो,” एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको एमालेले जनाएको छ । स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको एमालेले जनाएको छ ।

“राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो,” एमालेले भनेको छ, “कानुनको शासनको नाममा कानुनको उल्लंघन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन ।”

प्रकाशित: १३ कार्तिक २०८३ २०:५९ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast