कांग्रेसले मंसिरभरि देशव्यापी अभियान चलाउने

हिमाल प्रेस १२ कार्तिक २०८३ २०:५७ | Thursday, October 29, 2026
8
SHARES
कांग्रेसले मंसिरभरि देशव्यापी अभियान चलाउने

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन्।

नयाँ कार्यसमितिका सदस्यहरूको शपथग्रहणपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन्।

उनले छिट्टै पार्टीको पूर्ण बैठक बसेर सबैको धारणा सुन्ने र त्यसका आधारमा चार वर्षको कार्यतालिका बनाएर अनुशासित रूपमा काम अघि बढाउने बताए। प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारका काममाथि निगरानी गर्नु भएकाले कानुनी शासनको उल्लंघनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने उनको भनाइ थियो।

थापाले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए। नेता तथा कार्यकर्ताको रुचिअनुसार कार्यविभाजन गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित जिम्मेवारी तोकिने पनि उनले बताए।

सभापति थापाले औपचारिक शुभकामना आदानप्रदानका नाममा हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत कार्यक्रम नगर्ने घोषणा गरेका छन्। सरसफाइ, विपन्नलाई सहयोग वा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रम आयोजना भएमा मात्र सहभागी हुन उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ २०:५७ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast