नेकपा नेता बरालको प्रश्न- रास्वपाको सांसद हुनेबित्तिकै सुन फल्छ?

हिमाल प्रेस १२ कार्तिक २०८३ १६:४७ | Thursday, October 29, 2026
14
SHARES
नेकपा नेता बरालको प्रश्न- रास्वपाको सांसद हुनेबित्तिकै सुन फल्छ?

बुटवल- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकार प्रहरी राज्य (पुलिस स्टेट) निर्माणतर्फ अग्रसर भएको आरोप लगाएका छन्।

पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा चुनौतीको बहानामा पक्राउ गर्नेदेखि बहालवाला मन्त्रीलाई समेत राति १२ बजे थुन्न आदेश दिने कार्यले सरकारको नियतमाथि प्रश्न उठेको उनको भनाइ छ।

नेकपा रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको सुरुवात कार्यक्रमलाई सम्बोधन गर्दै बरालले सरकारले सिंगो देशलाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाए।

सरकारको आलोचना गर्ने प्रेस, न्यायालय र प्रहरीसमेतलाई आफ्नो मातहतमा राख्ने प्रयास भइरहेको उनले दाबी गरे ।

गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा रहेको विषय उठाउँदै बरालले त्यसबारे सरकारले कारबाही नगरेको आरोप लगाए। ‘हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ,’ उनले भने।

सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा र सुन भेटिएको विषय आश्चर्यजनक रहेको उनको टिप्पणी थियो। ‘गिट्टी कुट्ने बुवाआमाको भिडियो आउँछ, मन्त्रीको सुन देखिन्छ,’ उनले भने,‘रास्वपाको सांसद हुनेबित्तिकै सुन फल्छ।’

नेकपा केन्द्रीय संयोजन समिति सदस्यसमेत रहेका बरालले सुकुम्बासीलाई रुवाएर पठाउने सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए। बुटवलसहित देशका विभिन्न स्थानमा सुकुम्बासीले लामो समयको संघर्षपछि मात्रै लालपुर्जा पाएको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

उनले सरकार गलत दिशामा गएको उदाहरण प्रशस्तै रहेको दाबी गर्दै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिमाथि पनि प्रश्न उठाए। आनी छोइङले आफूलाई तिब्बती शरणार्थीका रूपमा उल्लेख गरेको दाबी गर्दै बरालले भने, ‘नेपाली नागरिकलाई बनाउनुको सट्टा तिब्बतीलाई बनाउन मिल्छ?’

कार्यक्रममा नेकपाका केन्द्रीय नेता तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकारका गतिविधिविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले सरकारका गलत गतिविधिबारे तथ्यका आधारमा जनतामाझ पुग्न र आगामी निर्वाचनको तयारीमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरे।

भारतका विभिन्न आन्दोलन र ब्राजिलमा लुलाको उदयले कम्युनिस्ट तथा वामपन्थी विचारप्रति आकर्षण रहेको देखाएको उनको दाबी थियो। आफूहरू रूपान्तरणसहित अघि बढे नेपालमा पुनः कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्ने उनले विश्वास व्यक्त गरे।

दुईमहिने जागरण अभियानका क्रममा नयाँ पुस्तालाई पार्टीमा जोड्नसमेत उनले आग्रह गरे। पुँजीवादी देशहरूमा देखिएका पछिल्ला घटनाक्रमले कम्युनिस्ट विचार सही रहेको पुष्टि गरेको उनको भनाइ थियो।

नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार जागरण अभियानअन्तर्गत सदस्यता तथा संगठन विस्तार, आगामी स्थानीय तहको निर्वाचनको तयारी र सरकारका गलत कदमबारे जनतालाई जानकारी गराउने कार्यक्रम सञ्चालन गरिनेछ।

जागरण अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देहीका संयोजक बाबुलाल यादव, पूर्वप्रदेशसभा सदस्य दीपा विश्वकर्मा, पुष्प ढकाल ‘क्षितिज’लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: १२ कार्तिक २०८३ १६:४७ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast