अस्थायी शिक्षक-कर्मचारीलाई स्थायीसरह सेवासुविधा उपलब्ध गराउन माग

हिमाल प्रेस १२ कार्तिक २०८३ १५:३४ | Thursday, October 29, 2026
498
SHARES
अस्थायी शिक्षक-कर्मचारीलाई स्थायीसरह सेवासुविधा उपलब्ध गराउन माग

काठमाडौँ- नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गर्न माग गरेको छ।

काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार तथा अस्थायी शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीलगायत सबै अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीको पेसागत निरन्तरता सुनिश्चितसहित स्थायीसरह सेवासुविधा माग गरेको हो।

युनियनले प्रचलित श्रम कानुनअनुसार पाउनुपर्ने बिदा, उपचार सुविधा, दुर्घटना बिमा, उपदानलगायत सेवासुविधा सुनिश्चित गर्न पनि माग गरेको छ। समान कामका आधारमा सबै शिक्षक-कर्मचारीमाथि न्यायोचित व्यवहार हुनुपर्ने उसको माग छ।

लामो समयदेखि सेवा गर्दै आएका अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीको योगदान र अनुभवको सम्मान गर्दै सम्बन्धित कानुन संशोधन गरी उमेर हद हटाउनुपर्ने युनियनको माग छ। यसो गर्दा उनीहरूलाई खुला प्रतिस्पर्धामा सहभागी हुने अवसर सुनिश्चित गर्नुपर्ने युनियनका अध्यक्ष विष्णु खत्रीले बताए।

उनले माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिए। शिक्षाको अधिकार स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किने अवस्था आएको उनको भनाइ छ।

युनियनले राहत, करार तथा अन्य अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीका समस्या सम्बोधन गर्न संघीय शिक्षा ऐन, नियमावली तथा सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी स्पष्ट, न्यायोचित र दीर्घकालीन नीति लागू गर्न पनि माग गरेको छ।

त्यस्तै अस्थायी शिक्षक तथा कर्मचारीको पेसागत हकहित संरक्षण, सामूहिक सौदाबाजी, संगठन विस्तार र ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १५:३४ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast