ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

हिमाल प्रेस ११ कार्तिक २०८३ २०:५२ | Wednesday, October 28, 2026
10
SHARES
ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । उनले एक विकेट पनि लिए।

ओपनर विनोद भण्डारी व्यक्तिगत ४ रनमा आउट  भए भने सैफ १४ र ब्रान्डन म्याकमुलन २२ रनमा आउट भए । त्यसपछि सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेले सम्हाले । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । पाण्डे ३१ ब्लमा ३७ रन बनाएर आउट भए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे ।

बलिङमा धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले एकएक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडे ।

महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । उनी छैटौं ओभरको पाँचौं बलमा अनिल खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगे ।

पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए । शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर ती विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

 

प्रकाशित: ११ कार्तिक २०८३ २०:५२ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast