काठमाडौँ– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेस गर्ने निर्णय भएको बताए ।
प्रवक्ता शेर्पाका अनुसार, बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ।
बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइरहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए ।
उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए । रासस



