काठमाडौँ- कमलसिंह ऐरीको घातक बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितको नजिक पुगेको विराटनगरलाई अन्तिम समयमा सम्हालिन नदिँदा चितवनले रोमाञ्चक जित दर्ता गर्यो।
चितवनको जितमा कमलसिंह ऐरी नायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। १८औँ ओभरमा लगातार दुई विकेट लिँदै उनले विराटनगरलाई दबाबमा पारे। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना समाप्त भयो। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक-एक विकेट लिए।
विराटनगरलाई जितका लागि अन्तिम ३ ओभरमा २१ रन आवश्यक थियो। तर, १८औँ ओभरमा कमलले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार बलमा आउट गरेपछि खेलले निर्णायक मोड लियो। दुवैले खाता खोल्न सकेनन्। १९औँ ओभरमा रिजनले थप दुई विकेट झारेपछि विराटनगर लक्ष्यभन्दा ८ रन टाढै रोकियो।
विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र एक चौकासहित ३३ रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए भने चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए।
ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरे। लोकेशले १४ बलमा २६ रन बनाए। शुभम रञ्जाने १० रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए। चरिथ असलंकाले देवलाई आउट गर्दै विराटनगरलाई पहिलो सफलता दिलाएका थिए।
विकेटकिपर ब्याटर अर्जुन साउदले ९ बलमा ३ रन मात्रै बनाउन सके। उनलाई ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराए।
१३औँ ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। दुवैले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। रवि ३२ र डान २९ रनमा अविजित रहे।



