मन्त्रीकाे पुतला जलाएकाे अभियाेगमा लुम्बिनी बचाउ महाअभियानका संयाेजक खान पक्राउ

हिमाल प्रेस १० कार्तिक २०८३ ११:११ | Tuesday, October 27, 2026
10
SHARES
मन्त्रीकाे पुतला जलाएकाे अभियाेगमा लुम्बिनी बचाउ महाअभियानका संयाेजक खान पक्राउ अक्रम खान

बुटवल- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएकाे लुम्बिनी बचाउ महाअभियानका संयाेजक अक्रम खानलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ।

विराेधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको पुतला जलाएको अभियाेगमा प्रहरीले खानलाई पक्राउ गरेको हो।

गएराति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका संयाेजक लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का बासिन्दा खान र लुम्बिनी सांस्कृतिक नगरपालिका-९, पिपराका वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिइएको थियो।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मन्त्रीको पुतला जलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

प्रहरीका अनुसार सोमबार साँझ ५ बजे पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन गरेको थियो।

उक्त विरोध कार्यक्रममा पनि मन्त्री पौडेलको पुतला जलाइएको जानकारीका आधारमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

महाअभियानका मेघनाथ आचार्यले निवासमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीद्वारा गैरकानुनी र गुण्डाशैलीमा गिरफ्तार गरेकाे भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै आचार्यले लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिप्रति नागरिक स्तरबाट गरिएको शान्तिपूर्ण विरोध र असहमतिलाई दबाउने उद्देश्यले पक्राउ गरेर सरकारले स्वेच्छाचारी कदम चालेकाे बताए।

नेपालको संविधानको धारा १७ (२) (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा धारा १७ (२) (ख) ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको मौलिक हक प्रत्याभूत गरेको भन्दै अभियानले संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएका रचनात्मक एवं शान्तिपूर्ण विरोधलाई अपराधीसरह मध्यराति घरमा छापामारी पक्राउ गरिनुले वर्तमान सरकारको अधिनायकवादी, स्वेच्छाचारी र निरंकुश चरित्रलाई छताछुल्ल पारेको बताएकाे छ।

‘संविधानको धारा २० (२) अनुसार पक्राउ परेको व्यक्तिलाई पक्राउ गर्नुको कारणसहितको सूचना तत्काल नदिई र कानुनी प्रक्रियाको पालना नगरी गरिएको यो पक्राउ पूर्णरूपमा गैरकानुनी, मानवअधिकार विरोधी र ‘रुल अफ ल’ (विधिको शासन) को उपहास हो’ विज्ञप्तिमा भनिएकाे छ।

अभियानले नेपाल सरकार, स्थानीय प्रशासन र गृह मन्त्रालयलाई संयोजक अकरम खानलाई तत्काल र निःसर्त रिहा गर्न माग गरेकाे छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:११ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast