काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सोमबार काठमाडौँको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक खतिवडाको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।
प्रदेश अध्यक्ष रामशरण फुयालको सभापतित्वमा तथा परिषद्को राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट कृष्णबहादुर मानन्धर वरिष्ठ उपाध्यक्ष, सूर्यबहादुर तामाङ सचिव, सावित्री धिताल सहसचिव र रविनराज अर्याल कोषाध्यक्षमा चयन भए।
नवनिर्वाचित अध्यक्ष खतिवडाले विद्यालय सञ्चालन र व्यवस्थापनमा कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण भए पनि उनीहरूको हकहित, सेवा सुविधा तथा पेसागत सुरक्षाका विषयमा अझै प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले विद्यालय कर्मचारीहरूको अधिकार संरक्षण, सेवा सुविधाको सुनिश्चितता र पेसागत सम्मानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेशभरिका विद्यालय कर्मचारीका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै समाधानका लागि पहल गर्ने उनले बताए।
विद्यालय कर्मचारीका जायज माग र मुद्दालाई सशक्त रूपमा अघि बढाउन सबै कर्मचारीलाई एकताबद्ध बनाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष खतिवडाको भनाइ छ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा प्रभावकारी व्यवस्थापनमा कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेकाले उनीहरूको सेवा, सुविधा र पेसागत सुरक्षाका विषयमा राज्यको ध्यानाकर्षण गराउन परिषद्ले आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।



